सिलगढी: सिलगढीका एउटी 25 वर्षीय युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर थुप्रैपल्ट शारीरिक सम्बन्ध बनाएर गर्भवती भएपछि युवतीलाई छोडेर भाग्ने प्रेमी पवन दासलाई पुलिसले बर्द्धमानबाट पक्राउ गरेर ल्याएपछि आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार सिलगढी 1 नम्बर वार्डको पञ्चानन कलोनीका पवन दास नाम गरेका युवकले 25 वर्षीय एकजना युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर थुप्रैपल्ट सहवास गरेको आरोप रहेको छ। युवती गर्भवती भएपछि उक्त युवक निखोज भएका थिए।

यसपछि युवतीले न्यायको गुहार लगाउँदै युवकको परिवारसित भेट गरे तापनि तिनले न्याय तथा अधिकार नपाएपछि प्रधान नगर पुलिस थानामा अभियोग दर्ता गरिन्। अभियोगको आधारमा पुलिसले घटनाको जाँच गर्दै आरोपी युवक पवन दासलाई बर्द्धमानबाट पक्राउ गरेर ल्याएपछि आज सिलगढी अदालतमा पेश गर्यो। अर्कोतिर, पीडित युवती हाल 6 महिनाको गर्भवती अवस्थामा रहेको स्थानीय वार्डका एकजना महिलाले बताएकी छन्।
