फाँसीदेवा, 23 जून: सोमबार एकाबिहानै एउटा भयङ्कर सडक दुर्घटना भयो। घटनाक्रम अनुसार, सिमेन्ट बोकेको ट्रकको पछाडी ढुङ्गा बोकेको लरि ठोक्कियो। उक्त घटनामा एक जना गम्भीर रूपमा घाइते भएका छन्। घटना रंगापानी–घोषपुकुर स्टेट हाई वे-मा भएको हो।
प्राप्त जानकारी अनुसार, सिमेन्ट बोकेको एउटा ट्रक सडकको छेउमा रोकिएको थियो। त्यसै समयमा तीव्र गतिमा आइरहेको ढुङ्गा बोकेको लरी उक्त ट्रकको पछाडी ठोक्कियो। दुर्घटनापछि लरी चालक क्याबिनमैं थुनिएका थिए।
घटनाको खबर पाएपछि फाँसीदेवा थाना पुलिस र मतिगढा दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेका थिए। तीन घण्टापछि चालकलाई गम्भीर अवस्थामा क्याबिनबाट उद्धार गरी उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा पठाइएको छ। दुर्घटनाको कारण केही समयसम्म सडकमा वाहनहरूको आवागमन अवरुद्ध भएको थियो।
