अलिपुर, 12 मार्च: होली अगावै शिकार पर्व रोक्नका लागि वन विभागले वन संलग्न वन-बस्ती अनि चिया बगान क्षेत्रहरूमा गश्ती शुरु गरेको छ। यसको साथै वन बस्तीहरू र चिया बगान क्षेत्रमा माइकिङ र पर्चाहरू वितरण गरेर मानिसहरूलाई सचेत गराइएको छ। केही समुदायहरूमा होलीको अघिल्लो दिन शिकार पर्व मनाउने चलन रहिआएको छ। धेरैजसो मानिसहरू होलीको अघिल्लो दिन जङ्गली जनावर र चरा-चरूङ्गीहरूको शिकार गर्नका लागि जङ्गलमा जाने गर्छन्। शिकार पर्व रोक्नको लागि वन विभागले सतर्कता अप्नाएको छ। अलीपुरद्वार जिल्लाको वन बस्ती र चिया बगान क्षेत्रहरूमा वन विभागले माइकिङ मार्फत मानिसहरूलाई जङ्गलमा प्रवेश नगर्नेबारे सचेत गराउँदै गश्ती लगाइरहेको छ। अनुमति बिना जङ्गलमा प्रवेश गर्नु दण्डनीय अपराध हो। यदि कोही पक्रा परेमा उनीहरू विरुद्ध मुद्दा दर्ता गरिने छ भन्दै मानिसहरूलाई सचेत गराइँदैछ।
