खरसाङ: होप फर चिल्ड्रेन, बिलिभर्स ईस्टर्न चर्च, सिलगढी डायोसेसले गत महिनादेखि डुवर्स र तराई क्षेत्रका विभिन्न स्कुलहरूमा स्वच्छता सामग्रीहरू वितरण गर्दै आइरहेको छ। हालसम्म लगभग 1300 भन्दा बढी विपन्न बाल-बालिकाहरू यसबाट लाभान्वित भएका छन्। यसै क्रममा आज 16 नोभेम्बर 2021 मा सालबारी-सिलगढीमा लगभग 100 बाल-बालिकाहरूलाई विद्यालय र स्वच्छता सामग्रीहरू वितरण गरियो। यस अवसरमा विकार जनरल रेभ सौनमेन पाण्डाले आशीर्वाद दिएका थिए भने प्रार्थनाको साथ कार्यक्रम शुरू गरियो। कार्यक्रमका संयोजक रापगेन लामा अनुसार बालबालिका टोलीले विभिन्न समुदायका गरिब तथा जोखिममा परेका बाल-बालिकाहरूलाई निरन्तर सहयोग गर्दै आइरहेको छ। कार्यक्रममा रेभ डेभिड राई (जिल्ला इन्चार्ज), पास्टर अनुप मगर, पास्टर किरण तामाङ, फादर राजु हिङमाङ, चन्दन विश्वकर्माको उपस्थिति रहेको थियो।
