11 पल्ट डायलग चलेर पनि बन्द भएको गोर्खाल्यान्डको वार्तालाई पुनः खोल्नु पर्छ : अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी घोषणा पत्रमा उल्लेख गरिएको गोर्खाल्यान्डको मुद्दाको डायलगलाई पुनः खोलिनु पर्छ भन्ने घोषणालाई आज जीटीए सभाको पहिलो सभामा जीटीए प्रमुख कार्यपाल अनित थापाले प्रस्ताव राखे। 50 जना सभासदहरुले सर्व सम्मतिको साथ उक्त प्रस्तावलाई ग्रहण गरेको छ। जीटीए सभामा अनित थापाले भने, 11 पल्ट गोर्खाल्यान्डको डायलग चलेर पनि बन्द भएको हो। गोर्खाल्यान्डको वार्तालाई पुनः खोल्नु पर्छ। आजको सभा गोर्खा जातिको भाग्य खोल्ने सभा हो। आधिकारिक रूपमा विगत दिनहरुमा कुनै पनि निर्वाचित गोर्खा प्रतिनिधिहरूले गोर्खाल्याण्डको आवाज यसरी उठाएका थिएनन्। आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्व रहेको जीटीए सभामा गोर्खाल्याण्डको मागको आवाज उठ्यो। यो आवाज कुनै चुनावी भाषण होइन। यो सदनको रेकर्डमा रहने ऐतिहासिक स्टेटमेन्ट हो। आज इतिहासको नयाँ कोसे ढुङ्गा स्थापना भएको छ भनी अनित थापाले बताएका छन्। तिनले अझ भने, गोर्खाल्याण्ड राजनीतिको विषय होइन। गोर्खा जातिको भविष्यमा राजनीति गर्नु नै ठीक होइन। गोर्खाको अस्तित्वको प्रश्न हो यो। यही अस्तित्वलाई बचाउनु मेरो पार्टीले वचन दिए अनुसार मेरो नेतृत्वको व्यवस्थाको शक्ति अनि क्षमताको सीमितता अनुसार आज मैले पुनः गोर्खाल्याण्डको मुद्दाको आधिकारिक दैलो खोलेको छु। केन्द्र अनि राज्य सरकारले हाम्रो आवाज अवश्य सुन्नेछन। आज म सञ्चोसँग सुत्नेछु। एउटा विश्वास राखेको छु कि गोर्खाल्याण्डको मुद्दाले सही दिशा पक्रनेछ। यो राजनीति भन्दा माथिको मुद्दा रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *