15 अप्रेलसम्म सिक्किमका सबै शैक्षिक संस्थान बन्द, देशी पर्यटकहरूलाई समेत रोक

गान्तोक : नोबल कोरोना भाइरसको सङ्क्रमणबाट राज्यवासीलाई जागरूक गराउन तथा बचाउनको लागि मुख्यमन्त्री पीएस गोलेको सभापतित्वमा आज एउटा उच्च स्तरीय बैठक सम्पन्न भयो। उक्त बैठकमा मुख्यमन्त्री पीएस गोले लगायत क्याबिनेट मन्त्रीगण, विधायकगण, उच्च प्रशासनिक पदाधिगण लगायत राज्यका स्वास्थ्य विभागीय शीर्ष पदाधिकारीगणको उपस्थिति रहेको थियो। हालसम्म सिक्किम राज्यमा एकैजना पनि कोरोना भाइरस सङ्क्रमित नभएको भए तापनि यसको सङ्क्रमणबाट राज्यवासीलाई बचाउनको लागि आजको बैठकमा केही महत्वपूर्ण निर्णयहरू लिएको छ। बैठकमा पारित गरिएका निर्णयहरूमध्ये राज्यको सबै स्कुल, कलेज, युनिभर्सिटीलगायत शैक्षिक संस्थानहरू आगामी 15 अप्रेल 2020 सम्म पूर्ण रूपले बन्द रहने भएको छ। यसको साथै भोलिदेखि देशी पर्यटकहरूलाई समेत सिक्किम भ्रमणमा रोक लगाइने निर्णय लिएको छ। राज्यका मुख्यमन्त्री गोलेले राज्यवासीलाई सिक्किमदेखि अन्य राज्यको परिभ्रमण नगर्ने सल्लाह दिँदै अति आवश्यक परेको खण्डमा मात्र सिक्किम छोड्ने अपील गरेका छन्।


 

यसबाहेक राज्यको सबै सिनेमा हल, क्यासिनो, पप, डिस्को, जीम, होटल, मेला तथा फेस्टिभलहरू बन्द राख्ने निर्देश दिएका छन्। यसैगरी, राज्यको 5 वटा प्रमुख प्रवेशद्वार चेकपोस्टमध्ये मल्ली र रम्फूमा स्क्रिनिङ व्यवस्था गरिने छ भने रहल 3 वटा रामबम, रेशी र उत्तरे चेकपोस्टलाई केही समयको निम्ति पूर्ण रूपले बन्द गरिने निर्णय लिएको छ। जनताको हितलाई ध्यानमा राखेर सिक्किम राज्यका फार्मास्युटिकल कम्पनीहरूलाई पनि तिनीहरूको उद्योग युनिट अस्थायी रूपमा बन्द गरिदिने मुख्यमन्त्रीले अनुरोध गरेको छ। राज्यको स्वास्थ्य विभागलाई कुनै प्रकारको आपतकालीन सेवाको निम्ति तयार बस्ने अनि राज्यवासीहरूको निम्ति आवश्यक खाने सबै सरसमानहरू चाँडै सङ्ग्रह गरेर राखिने बैठकमा निर्णय लिएको बताइएको छ। राज्यका वासिन्दाहरूको हितमा नै राज्य सरकारले यस प्रकारको निर्णय लिएकोले सबैलाई उक्त निर्देश पालन गरिदिने मुख्यमन्त्रीले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *