19 प्रतिशतको दरले बोनस दिनु पर्ने मागमा तिरहाना चिया बगानमा श्रमिकहरूले विक्षोभ प्रदर्शन

बाघडुग्रा (निसं): 18 प्रतिशतको दरले होइन तर 19 प्रतिशतको दरले बोनस दिनु पर्छ भन्ने माग गर्दै आज बाघडुग्राको तिरहाना चिया बगानमा श्रमिकहरूले विक्षोभ प्रदर्शन गर्नको साथै कमानका म्यानेजरलाई घेराउ गरे। बोनस चाँडै भुक्तान गरिनु पर्ने मागलाई लिएर आज बिहिबार बिहानदेखि बाघडुग्राको तिरहाना चिया बगानमा म्यानेजरलाई घेराउ गरेर श्रमिकहरूले प्रदर्शन गर्नको साथै नाराबाजी गरे। स्मरण रहोस, हिज बुधवार सिलगढीको श्रम विभागमा सम्पन्न भएको त्रिपक्षीय बैठकमा 18 प्रतिशतको दरले बोनस दिनेबारे सहमति भएको थियो। त्यही अनुसार आगामी काली पुजाभन्दा अगावै बोनस वितरण गरिनु पर्ने सहमति भए तापनि आज बिहान चिया श्रमिकहरूले बैठकको निर्णयलाई अस्वीकार गर्दै आफुहरूलाई 19 प्रतिशतको दरले बोनस दिनु पर्ने माग गरे। यसको साथै माग पूरा नभएसम्म आफुहरूको आन्दोलन जारी रहनेछ भनि मालिक पक्षलाई चेतावनी दिएका छन्। अर्कोतिर, चिया बगानका म्यानेजरले भने, हिज बुधबार सिलगढीमा बसेको बैठकमा लिएको निर्णय अनुसार 18 प्रतिशतको दरले बोनस आगामी नौ दिनको अवधिमा दिने निर्णय भएको थियो। तथापि चिया श्रमिकहरूले 19 प्रतिशतको दरले बोनस दिनु पर्ने मागमा प्रदर्शन गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *