20 जनवरी उत्तरबंग उत्सवको उद्घाटन मुख्यमन्त्री ममताले गर्ने

सिलगढी : आगामी 20 जनवरीदेखि हुने नवौँ उत्तरबंग उत्सवको राज्यकी मुख्मन्त्री ममता ब्यानर्जीले विधिवत् उद्घाटन गर्ने छिन्। आज सिलगढीमा पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यका पर्यटन मन्त्री गौतम देवले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार आगामी 20 जनवरीको दिन फाँसीदेवा मोडबाट एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइने छ जसले विभिन्न सडकहरूको परिक्रमा गरेपछि अन्तमा अठारखोई मैदानमा पुगेर समापन हुनेछ। यसपछि अपरान्हको समय मुख्यमन्त्रीले उत्तरबंग उत्सवको उद्घाटन गर्नेछन्। मुख्यमन्त्रीको निर्देशमा प्रत्येक जिल्लालाई एक अथवा दुई दिवसीय उत्तरबंग उत्सवको आयोजना गर्ने निर्देश दिएकोले यसपल्ट जलपाईगढी, कुचबिहार, राजगञ्च, रायगञ्ज, दार्जिलिङ, कालेबुङ, अलिपुरद्वारलगायत अन्य अन्य जिल्लाहरूमा एकैसाथ 20 जनवरीको दिन उत्तरबंग उत्सव पालन गरिने भएको छ। उत्तरबंग उत्सव अन्तर्गत 23 जनवरीको दिन सिलगढी कञ्चनजङ्घा स्टेडियममा विश्वकै सबैभन्दा ठुलो चित्राङ्कन प्रतियोगिताको आयोजना गरिने छ जसमा 2 सयभन्दा अधिक ससाना नानीहरूले अंश ग्रहण गर्नेछन्। यसबाहेक 26 जनवरीको दिन गणतन्त्र दिवसको अवसरमा हाफ म्याराथन अनि फन रन-को आयोजना गरिनेछ। मन्त्री देवले बताएअनुसार 20 जनवरीमा उत्तरबंग उत्सवको उद्घाटन गर्नको साथै 9 जनालाई बङ्ग रत्नद्वारा मुख्यमन्त्रीले सम्मानित गर्नेछन्। यसबाहेक प्रत्येक जिल्लाका 10 जना मेधावी विद्यार्थीहरूलाई स्कलरशिप प्रदान गर्नेछन्। उत्तरबंग उत्सवकै अवसरमा विश्व बङ्ग्ला हटमा दुई दिन सांस्कृतिक कार्यक्रम अनि रवीन्द्र भानु मञ्चमा दुई दिने सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *