26 वर्षपछि ग्रामीण ब्याङ्क खोरीबारी ब्राञ्च घोटालाका दोषी म्यानेजर र क्लर्कलाई जरिमाना सहित कारावासको सजाय

सिलगढी : गत 26 वर्ष अघि भएको  ब्याङ्क घोटालामा सीबीआई कोर्टले म्यानेजर र क्लर्कलाई दोषी प्रमाणित गर्दै कारावास सहित जरिमाना लगाएको छ। घटनाक्रम अनुसार वर्ष 1991-1995  मा उत्तरबंग क्षेत्रीय ग्रामीण ब्याङ्क खोरीबारी ब्राञ्चमा तीनजना अस्तित्वविहीन मानिसको ब्याङ्क खाताबाट 4 लाख रुपियाँको घोटाला भएको थियो भने वर्ष 1996 –मा यसबारे ब्याङ्क प्रबन्धनले थाहा पाएपछि सीबीआईलाई यसको जाँच सुम्पिदिएको थियो। जाँच अवधि सीबीआई-ले उक्त 4 लाख रुपियाँको घोटालामा उत्तरबंग क्षेत्रीय ग्रामीण ब्याङ्कका म्यानेजर मनोज कुमार चक्रवर्ती, सीनियर क्लर्क सुभाष चन्द्र राय र क्यासियर दीपक बनिकलाई सोधखोज गरेपछि पक्राउ गरेको थियो। यसपछि सीबीआई-ले यी 3 जना विरुद्ध प्रमाण जुटाउन शुरू गरेपछि सीबीआईले लगभग 2 हजार पन्नाको चार्ज शीट सिलगढी अदालतमा पेश गरेको थियो। उक्त मामिलाबारे सबैभन्दा पहिला सुनवाई कोलकाता सीबीआई कोर्टमा चलेपछि त्यसको केही वर्षपछि दार्जिलिङ जिल्ला अदालतमा ट्रान्सफर गरिदियो। अन्तमा सिलगढी अदालतमा सीबीआई कोर्ट बनेपछि दार्जिलिङबाट उक्त केस सिलगढी सीबीआई कोर्टमा ट्रान्सफर गरिदियो। वर्षौँसम्म उक्त मामिलामा सिलगढी सीबीआई कोर्टमा सुनवाई चलेपछि मोठ 22 जना मानिसहरूको बयान कोर्टमा दर्ता गरियो। जसमा ब्याङ्क प्रबन्धन, सीबीआईको जाँच टीम लगायत ब्याङ्का अन्य कर्मीहरू सामेल थिए। यसपछि आज सिलगढी सीबीआई कोर्टले सुनवाईमा बचाउ पक्ष र सरकारी पक्षको दलील सुनेपछि फसेला सुनाउँदै सीबीआई कोर्टका न्यायाधीश मानवेन्द्र मोहन सरकारले उत्तरबंग क्षेत्रीय ग्रामीण ब्याङ्क घोटालामा ब्याङ्क म्यानेजर मनोज कुमार चक्रवर्ती, सीनियर क्लर्क सुभाष चन्द्र रायलाई दोषी ठहराएको छ। म्यानेजर मनोज कुमार चक्रवर्तीलाई अदालतले 30 हजार रुपियाँको जरिमाना सहित 2 वर्षको कारावास  अनि सीनियर क्लर्क सुभाष चन्द्र रायलाई मुख्य आरोपी ठहराउँदै लगभग 1 लाख रुपियाँ जरिमाना सहित 5 वर्षको कारावासको सजाय सुनाएको छ। तथापि, क्यासियर दीपक बनिक निर्दोष रहेको प्रमाणित भएपछि तिनलाई रिहाइ गरियो। यस विषयमा क्यासियर दीपक बनिकका वकील रतन बनिकले भने, यस घोटालामा तिनका मुअकिल निर्दोष रहेकोले 26 वर्षसम्म कोर्टमा मामिला चलेपछि आज सिलगढी सीबीआई कोर्टले फसेला सुनाउँदै तिनलाई रिहाइ गरिदिएको छ भने ब्याङ्क म्यानेजर र क्लर्कलाई दोषी ठहराउँदै सजाय सुनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *