27 जुलाईमा गोजमुमो 2-ले शहीद दिवस पालन गर्ने

कालेबुङ : जाति माटो र उन्मुक्तिको निम्ति विगत 1986 सालमा शहीद भएकाहरूको स्मरणमा प्रत्येक वर्षझैँ यस वर्ष पनि 27 जुलाईको दिन गोजमुमो 2 –ले शहीद दिवस पालन गर्ने तय गरेको छ। गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समिति महासचिव अमीर बस्नेतले शहीद दिवस पालन गर्नको निम्ति समिति गठन गरिएको तथा एघार माइलस्थित शहीद वेदीमा उक्त शहीद दिवस कार्यक्रम पालन गरिने जनाए। उक्त कार्यक्रमको लागि प्रशासनले बिहान 7 बजेदेखि 9 बजीसम्म अनुमति दिएकोले गर्दा यस वर्ष 27 जुलाईको दिन बिहानको समयमा शहीद दिवस पालन गरिने तिनले जानकारी गराउँदै पुजा अर्चाना, सर्वधर्म प्रार्थनासँगै शहीद परिवारका सदस्यहरूको उपस्थितिमा कार्यक्रमको आयोजना गरिने बताए। शहीद पार्क परिसरमा मुख्य कार्यक्रम सम्पन्न भइसकेपछि सहरको विभिन्न वार्ड तथा संलग्न क्षेत्रहरूमा रहेको शहीद वेदीहरूमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेकोले शहीद परिवारका सदस्यहरू लगायत मानिसहरूलाई उपस्थित भइदिने युवा मोर्चा महासचिव अमीर बस्नेतले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *