30 वटा ग्यास सिलिन्डर लोड गरेको एउटा पिकअप भ्यानसहित चालक पक्राउ

सिलगढी, 3 दिसम्बर (निसं): सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थाना पुलिसले चोरीको आशंकामा 30 वटा ग्यास सिलिन्डर लोड गरेको एउटा पिकअप भ्यान पक्राउ गरेको छ। यसको साथै वाहन चालकलाई पनि पक्राउ गरिएको छ। पक्रा परेका आरोपीको नाम सुशील शाह रहेको छ र उनी सिक्किम निवासी हुन्।
प्राप्त जानकारी अनुसार, सोमबार गोप्य सूचना मार्फत सिलगढीबाट एउटा पिकअप भ्यानमा भरेर धेरै वटा ग्यास सिलिन्डर सिक्किम तर्फ लगिरहेको कुरा भक्तिनगर थानालाई अवगत गराइयो। त्यसपछि भक्तिनगर थाना पुलिसले चेकपोस्ट इलाकामा अभियान चलाएर सालुगढाबाट आउँदै गरेको पिकअप भ्यानलाई पक्राउ गऱ्यो। पिकअप भ्यानमा 30 वटा ग्यास सिलिन्डर लोड गरिएको थियो। पुलिसले चालकलाई सिलिन्डरसँग सम्बन्धित कागज सोद्धा तिनले देखाउन सकेनन्। त्यसपछि पुलिसले चालकलाई पक्राउ गरेको बताइएको छ। ग्यास सिलिन्डर चोरी गरेर सिक्किम लैजाने तयारी गरेको पुलिसले आशंका व्यक्त गरेको छ। आरोपी चालकलाई मंगलबार जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *