भिन्ना-भिन्नै ट्रेनमा डीआरआई-को छापामारी, 5 करोडको सुनको बिस्कुट सहित 8 जना पक्राउ

सिलगढी डीआरआई सिलगढी युनिटको टीमले एनजेपी रेलवे स्टेशनमा कोलकाता जाने तीनवटा भिन्ना-भिन्नै ट्रेनमा अभियान चलाएर 5 करोडभन्दा अधिक सुनको बिस्कुट जफत गरेको छ। घटनामा 8 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा दिलबर मिया (43), नुर मुहम्मद मियाँ (45), रेजाउल हक (30), महबुब हसन (19), रेजाउल रहमान (38), रसेल हक (19), रुबेल हुसेन (21), शाहनुर हक (23) सामेल छन्। तिनीहरू सबैजना कुचबिहार जिल्ला निवासी हुन्। प्राप्त जानकारी अनुसार इन्डो-बङ्ग्लादेश बर्डर कुचबिहारमा यिनीहरू विदेशी सुन तस्करी गर्ने उद्देश्यले आएपछि कुचबिहारबाट कोलकता जाने सराईघाट, उत्तर बंग एक्सप्रेस र पदातिक एक्सप्रेसमा सवार भएर कोलकातातर्फ प्रस्थान गरे। डीआरआई सिलगढी युनिटको टीमले गोप्य सुइँको पाएपछि गत राति एनजेपी रेलवे स्टेशनमा अभियान चलाएर 8 जना तस्करलाई पक्राउ गरेपछि छानबीन गर्दा 80 पीस सुनको बिस्कुट उद्धार भएको बताइएको छ। जफत गरेको सुनको मोठ ओजन 9 किलोग्रामभन्दा अधिक रहेको छ भने यसको अनुमानित बजार मूल्य 5 करोड 59 लाख 60 हजार 973 रुपियाँ आँकेको छ। पक्रा परेका 8 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि 14  दिनको न्यायिक हिरासतमा पठाएको छ। उक्त घटनामा अन्य व्यक्तिहरू संलग्न रहेको हुनसक्ने आशंकामा डीआरआई-ले जाँच शुरू गरेको डीआरआई पक्षका वकील रतन बनिकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *