44औँ चेस ओलम्पियड-बारे सिलगढीमा चेस समितिका सदस्यहरूद्वारा पत्रकार सम्मेलनको आयोजना

सिलगढी : भारतको चेन्नईमा 44औँ चेस ओलम्पियडको आयोजना गरिने भएको छ। यसैले देशभरिमै यसको साङ्केतिक प्रचार शुरू गरिएको छ। यसै क्रममा सिलगढी जर्नलिस्ट क्लबमा आज नेहरू युवा केन्द्र दार्जिलिङ एवम् दार्जिलिङ र जलपाईगढी जिल्लाका चेस समितिका सदस्यहरूले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। तिनीहरूले बताएअनुसार गत 29 जूनको दिन दिल्लीबाट देशका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको प्रथम ओलम्पियडको लागि टर्चको उद्घाटन गरे। यस वर्ष भारतको 75औँ स्वाधीनता दिवसको अवसरमा देशका 75 वटा महत्वपूर्ण सहरमा चेस ओलम्पियड टर्चले परिभ्रमण गर्ने भएको छ। भोलि शुक्रबार चेस ओलम्पियडको टर्च लिएर ग्रान्ड मास्टर मितव्य घोष बाघडुग्रा हवाईअड्डामा आइपुग्नेछन्। यसपछि शिवमन्दिर, नौकाघाट जलपाईमोड, सेभोक रोड हुँदै सहरको विभिन्न ठाउँहरूको परिभ्रमण गरेपछि सालुगढा मोनास्ट्री पुग्नेछन्। जहाँ एउटा संवर्द्धना कार्यक्रमको आयोजना गरिने भएको छ। उक्त 44औँ चेस ओलम्पियडमा 188 वटा देशले अंश ग्रहण गरेको छ। प्रत्येक देशबाट 2 जना खेलाडीले अंश ग्रहण गर्नेछन्, जसमा महिला एवम् पुरुष दुवै सामेल छन्। आगामी 28 जुलाईदेखि 10 अगस्तसम्म चेन्नईमा उक्त चेस ओलम्पियड खेल सम्पन्न हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *