70 वर्षीय वृद्धालाई घरविहीन भएपछि नाइट सेल्टरमा बस्ने व्यवस्था

जलपाईगढी : 70 वर्षीय वृद्धा आमालाई घरबाट बाहिर निकालिदिएको छोरा विरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारी अनुसार गत राति जलपाईगढीको शारदापल्ली संलग्न तिस्ताचढ़ इलाकामा स्थानीय मानिसहरूले एउटी वृद्धालाई देखेपछि यसबारे जलपाईगढी कोतवाली पुलिसलाई खबर दिए। खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त वृद्धासँग सोधखोज गर्दा जलपाईगढीको सरकारपाड़ा निवासी रूपा राय रहेको अनि तिनको छोराको नाम सुनील राय बताइन्। उक्त वृद्धाले हालसम्म मानिसहरूको घर-घरमा काम गरेर आफ्नो जीविका चलाइलरहेकी भए तापनि अब उमेर पाको भएकोले गर्दा काम गर्न असमर्थ रहेको बताइन्। उक्त वृद्धाको एउटा छोरा रहेको तर छोराले आमालाई आफूसँग राख्न नचाहेको तिनले बताइन्। वृद्धा दिनभरि जलपाईगढीको शारदापल्ली संलग्न तिस्ताचढ़मा बसेर नै हाल दिनहरू बिताइरहेकी छन्। उक्त वृद्धालाई उद्धार गरेर तिनले बताएको ठेगाना अनुसार घरमा पुर्याइदिएर पुलिसले छोरासँग सोधखोज गर्दा आफू ससुरालीमा बस्ने गरेकोले गर्दा आमालाई राख्न नसकेको बताए। त्यसपछि पुलिसले हाल उक्त वृद्धालाई नगरपालिकाको नाइट सेल्टरमा बस्ने व्यवस्था गरिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *