सिलगढी : डाबग्राम-फुलबारी खोलाचन्द फापरी इलाकामा 8 वर्षीय बालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा भक्तिनगर थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति कृष्ण शर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत एक हप्ता अघि आरोपी कृष्ण शर्मा खोलाचन्द फापरी इलाकाको एउटा घरमा भाडामा बस्न आएका थिए। उक्त घर मालिकको 8 वर्षीय छोरीसित गत साँझ चकलेटको प्रलोभन देखाएर घरबाट नजिकैको जङ्गलमा लगेर उक्त बालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोप उठेको छ। त्यस समय उक्त जङ्गलको बाटो भएर आइरहेका तीनजना व्यक्तिले देखेपछि आरोपी व्यक्तिलाई पक्रेर इलाकामा ल्याएपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर भक्तिनगर थाना पुलिस घटनास्थलमा आएर उक्त व्यक्तिलाई पक्राउ गरेपछि घटनाको जाँच शुरू गरेको बताइएको छ।
