8 वर्षीय छोरीसहित नुरी खातुन फुलबारीबाट निखोज

राजगञ्ज : फुलबारी निवासी एउटी महिला 8 वर्षीय छोरीसितै गत 4 दिनदेखि निखोज भएकी छन्। निखोज महिला नुरी खातुन र छोरी सोनिया परबीन सामेल छन्। निखोज महिला नुरी खातुनको लोग्ने शरिफुल मोहम्मदले एनजेपी थानामा निखोज भएकोबारे अभियोग दर्ता गरेका छन्। प्राप्त जानकारी अनुसार राजगञ्जको फुलबारी सुजीभिटा गाउँ निवासी निखोज महिलाको लोग्ने शरिफुल मोहम्मद दैनिक मजदुरको काम गर्छन् भने ती दुईको एउटा 10 वर्षीय छोरा र एउटी 8 वर्षीय छोरी छन्। छोरा सिलगढीको शक्तिगढस्थित एउटा प्राथमिक विद्यालयमा अध्ययनरत छन् लोग्ने शरिफुल सधैँ छोरालाई स्कुलमा छोडेपछि आफू काम गर्न सिलगढी जाने गर्दथे अनि छुट्टी भएपछि स्वास्नीले छोरालाई स्कुलबाट ल्याउने गर्दथे। गत सोमबार स्वास्नीलाई 1 लाख 20 हजार रुपियाँ राख्न दिएपछि तिनी काममा गएका थिए भने छोरालाई स्कुलबाट ल्याउन जाँदा उक्त रुपियाँ ब्याङ्कमा जम्मा गर्न भनेका थिए। तिनको स्वास्नी उक्त रुपियाँ लिएर आफ्नो आमाको घरमा गएकी थिइन् भने त्यहाँबाट निस्केपछि स्वास्नी नुरी र छोरी सोनिया निखोज भएको लोग्ने शरिफुलले बताए। विभिन्न ठाउँमा ती दुई आमा-छोरीको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि लोग्ने शरिफुलले एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ। यस विषयमा निखोज महिलाको आफन्ता मोकसेद आलमले बताएअनुसार हाल विभिन्न ठाउँमा महिलाहरू प्रलोभनमा परेर कुचक्रमा फँस्ने गरेकोले गर्दा नुरी खातुन पनि सम्भवतः यस्तै प्रलोभनमा फँसेको हुनसक्छ। यसैले पुलिसले ती दुई आमा-छोरीलाई चाँडै खोजी निकाल्ने तिनले माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *