आफन्तविहीन व्यक्तिलाई सहयोगी हात र नमस्ते खरसाङको पहलमा लगियो खरसाङको रोहिणीस्थित वृद्धाश्रममा

खरसाङ: आफन्तविहीन र साहाराविहीन एकजना व्यक्तिलाई सहयोगी हात र नमस्ते खरसाङको पहलमा खरसाङको रोहिणीस्थित वृद्धाश्रममा लगियो। आफ्नो नाम गणेश प्रधान बताउने अनि घर घरि तीनधारे, घरि महानदी, घरि अम्बटे बताउने उक्त व्यक्ति विगत केही समयदेखि खरसाङको सुपर मार्केट परिसरमा खुल्ला नै बसिरहेका थिए। ती व्यक्ति बिमारी भएपछि खरसाङ महकुमा अस्पतालमा भर्ना भएका थिए भने निको भएपछि अस्पतालबाट छुट्टी पाएपछि गत 9 जनवरीदेखि तिनी सुपर मार्केटकै बाहिरपट्टि जाड़ोमा पुन: बस्न बाध्यता बनेका थिए। जाड़ोको मौसममा यसरी खुल्ला छतमुनि बस्नु पर्ने देखेर खरसाङको सहयोगी हात नामक संस्थाले ती व्यक्तिको लागि लुगाफाटाह, ओढ्ने ओछ्याउनेहरू र अस्थायी रूपमा पलङको पनि व्यवस्था गरिदिएका थिए। उक्त अज्ञात व्यक्तिलाई कुनै सेल्टर होममा स्थायी रूपमा राख्नलाई नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङले पहल गर्दै सबैसित बातचीत गरी अन्तत: खरसाङ महकुमा शासक, खरसाङ पुलिस थाना, गाड़ीधुरा पुलिस आउट पोष्टको सहयोगमा खरसाङको रोहिणीस्थित वृद्धाश्रममा राखिएको छ। गणेश प्रधानको कोही नभएको र साहाराविहीन देखेर सहयोगी हात र नमस्ते खरसाङको निर्मल गुरुङको पहलमा हिजो राति नै खरसाङको सुपर मार्केट परिसरबाट उद्धार गरेर रोहिणी लगिएको छ। यस अवसरमा सहयोगी हातको सुमित्रा राईले पत्रकारहरूसित कुराकानी गर्दै साहाराविहीन गणेश प्रधानको कोही नभएकोले आफुहरूले सहयोग गरेको र सहयोगी हातद्वारा खरसाङको खहरेमा सञ्चालित वृद्धाश्रममा ठाउँ नभएकोले राख्न नसकिएको र उक्त व्यक्तिलाई राख्नलाई स्थायी ठाउँको लागि नमस्ते खरसाङको निर्मल गुरुङसित सर सल्लाह गरेर उनकै सहयोगमा रोहिणी लैजाने व्यवस्था मिलेकोमा खुशी व्यक्त गरिन्। यस अवसरमा निर्मल गुरुङले भने, साहाराविहीन व्यक्तिलाई हामीले मानवताको नातामा यसरी सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफुले गणेश प्रधानको लागि महकुमा शासक, खरसाङ पुलिस थानासित सम्पर्क गरेर सही पहल भएको बताए। यस कार्यमा सहयोगी हातको सदस्य, नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङ र गाड़ीधुरा पुलिस आउट पोष्टको पुलिस अधिकारी मदन गुरुङद्वारा प्रधानलाई रोहिणी वृद्धाश्राममा पुरार्‍याइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *