आजदेखि नवौँदेखि बाह्रौँ श्रेणीसम्म खोलियो सिलगढीमा स्कुलहरू

सिलगढी : कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर लगभग एक वर्षदेखि बन्द अवस्थामा रहेको राज्यभरिका प्रायः सबैजसो स्कुलहरू आजदेखि आंशिक रूपमा खोलियो। सरकारी सबै निर्देशहरूलाई पालन गर्दै नवौँदेखि बाह्रौँ श्रेणीसम्मको आजदेखि क्लास शुरू भएको छ। आजदेखि स्कुल खोलिएकोमा विद्यार्थीहरू निक्कै खुशी देखियो। यतिका दिनसम्म घरमै अनलाइन मार्फत् क्लास भए तापनि आजदेखि स्कुलमा गएर साथीहरूसित पढ्न साथै समय ब्यतीत गर्न पाउँदा विद्यार्थीहरू निक्कै खुसी भएका छन्। तथापि, स्कुलमा कोरोनाको संक्रमणलाई ध्यानमा राखेर विद्यार्थीहरूले केही नियमहरू पालन गर्नुपर्नेछ। सिलगढी सहरको विभिन्न स्कुलमा क्लासभित्र प्रवेश गर्नअघि आज थर्मल मसिनद्वारा विद्यार्थीहरूको शरीरको तापमान जाँच गरियो। यसको साथै एकै ठाउँमा भेला भएर विद्यार्थीहरू बस्न मनाही गरिएको छ भने अनिवार्य रूपमा मुखमा माक्स लगाउनुपर्ने तिनीहरूलाई निर्देश दिएको छ। विद्यार्थीहरूले क्लासमा शारीरिक दूरी कायम राख्नुपर्ने साथै स्कुलका शिक्षकहरूले पनि यी सब विषयहरूबारे विद्यार्थीहरूलाई सावधान गराउनुपर्ने सरकारी निर्देश जारी गरिएको छ। कोरोना संक्रमण हालसम्म पूर्ण रूपले नियन्त्रणमा नरहे तापनि स्कुलका शिक्षक-शिक्षिकाहरूले विद्यार्थीहरूलाई यसबारे ध्यान राख्नेछन् भनी अभिभावकहरूले पूर्ण भरोसा राखेका छन्। केही महिनापछि आज आफ्ना छोरा-छोरीहरूलाई स्कुल पठाउन पाउँदा अभिभावकहरू समेत निक्कै खुशी देखिन्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *