आलु र प्याजको कालो बजार गर्नको लागि ममता सरकारले मूल्य वृद्धि गरेको सायन्तन बसुको आरोप

सिलगढी : मुख्यमन्त्रीले बंगाललाई स्विटजरल्यान्ड बनाउने घोषणा गरेकी थिइन् तर बंगाल अहिले फोहोर मैलाको थुप्रो बन्न पुगेको छ। आज चम्पासरीमा सिलगढी सांगठनिक भाजपाका कार्यकर्ता एवम् किसान मोर्चा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा राज्य महासचिव सायन्तन बसुले यस प्रकारको मन्तव्य व्यक्त गरे। तिनले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीमाथि आरोप लगाउँदै आलु र प्याजको कालो बजार गर्नको लागि राज्य सरकारले मूल्य वृद्धि गरेर यसको फाइदा तृणमूलले उठाइरहेको बताए। यसको साथै तृणमूल सरकारले कटमनी लिइरहेको पनि तिनले आरोप लगाए। मुख्यमन्त्रीले राज्यवासीलाई भोट हत्याउनको लागि केवल ठुल्ठुलो घोषणा गरिरहेको बताउँदै बंगाललाई स्विट्जरल्यान्ड बनाउँछु भन्ने दिदीले यसलाई अहिले फोहोर मैलाहरूको थुप्रो बनाएको दावी गरे। यस कार्यक्रममा निर्भया दिदीको नामले प्रख्यात किसान मोर्चाकी उपाध्यक्ष श्रीरूपा मित्र चौधरी पनि उपस्थित थिइन्। तिनले कार्यक्रमलाई सम्बोधन गर्दै राज्य सरकारको नीतिहरूको आलोचना गर्दै मुख्यमन्त्रीको निन्दा गरिन्। आज सिलगढी सांगठनिक भाजपाका कार्यकर्ता एवम् किसान मोर्चा संगठनले सिलगढीमा आलु एवम् प्याजको कालो बजार चलाएको विरोधमा एसडीओलाई एउटा ज्ञापन  पत्र पनि चढाइयो। सिलगढीको रेगुलेटेड मार्केटमा उक्त कार्यक्रमको आयोजना गर्ने  पूर्व निर्धारित कार्यक्रम रहे तापनि पुलिसले यसको निम्ति अनुमति नदिएपछि उक्त कार्यक्रम चम्पासारीमा आयोजित गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *