आनन्दमय बर्मन सिलगढी सांगठनिक जिल्ला भाजपाको संयोजक चयन

सिलगढी : मतिगढा-नक्सलबारीका भाजपा विधायक आनन्दमय बर्मनलाई सिलगढी सांगठनिक जिल्ला भाजपाको नयाँ संयोजकको रूपमा चयन गरियो। भाजपाको तर्फबाट आज यसको घोषणा गरियो। भाजपा सूत्रले दिएको जानकारीअनुसार विधानसभा चुनाउपछि जिल्ला सभापति प्रवीण अग्रवाल भाजपाको केही कार्यक्रममा देखानपरेकोले गर्दा नगरनिगम तथा महुकमा परिषद्को चुनाउ अघि आनन्दमय बर्मनलाई जिल्लाको नयाँ दायित्व सुम्पेर भाजपाले संगठनको शक्ति वृद्धि गरेको बताइएको छ। नयाँ दायित्व पाएपछि विधायक बर्मनले भने, पार्टीले आफूलाई नयाँ दायित्व सुम्पेको छ। आफूमाथि भरोसा राखेकोमा तिनले पार्टीलाई धन्यवाद जनाए। यसभन्दा अघि आफू जिल्लाका महासचिव रहेको बताउँदै पार्टीको जिल्ला सभापति प्रवीण अग्रवाल नै हुन् भनी तिनले बताए। लोकसभा र विधानसभा चुनाउमा पार्टीले राम्रो परिणाम प्राप्त गरेको बताउँदै नगरनिगम तथा महकुमा परिषद् चुनाउमा पनि राम्रो परिणाम प्राप्त गर्ने तिनले आशा व्यक्त गरे। अर्कोतिर, प्रवीण अग्रवाल दलको विभिन्न कार्यक्रममा अनुपस्थित रहेको विषयलाई लिएर तिनले भने, विधानसभा चुनाउपछि प्रवीण अग्रवाल कोरोना संक्रमित भएकोले शारीरिक अस्वस्थ्यता तथा व्यवसायले गर्दा तिनले पार्टीलाई धेरै समय दिन सकेका छैनन्। तिनी धेरैजसो बाहिर जाने गर्दछन्। तथापि, सिलगढीमा रहेको समय पार्टीको कार्यक्रममा सहभागी जनाउने गरेको साथै तिनको नेतृत्वमा पार्टीले कार्य गर्ने बर्मनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *