आंशिक लकडाउनबारे राजगञ्जका विधायक खगेश्वर रायले गरे व्यवसायीहरूसित बैठक

राजगञ्ज: कोरोनाको बढ्दो प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा लगाइएको आंशिक लकडाउन बारेमा राजगञ्जका विधायक खगेश्वर रायले आज व्यवसायीहरूसित एउटा बैठक गरे। राजगञ्ज ब्लक अन्तर्गत पर्ने बेलाकोवाको शिकारपुर ग्राम पञ्चायत कार्यालयको देवी चौधुरानी सभा कक्षमा पुलिस प्रशासनको उपस्थितिमा तिनले आज व्यवसायीहरूसित एउटा बैठक गरे। उक्त बैठकमा बेलाकोवा आउटपोस्ट पुलिस र व्यवसायीहरूसित विविध विषयमा चर्चा परिचर्चा गरिएको साथै मुस्लिम सम्प्रदायका मानिसहरूको सबैभन्दा ठुलो पर्व ईद आउन अब केही दिन मात्र बाकी रहेकोले व्यवसायीहरूसित कुराकानी गरेर आंशिक लकडाउनको समय केही बढाइएको तिनले बताए। अबदेखि सौदापात गर्ने दोकान र मिठाई दोकानहरू बिहान 7 बजीदेखि 10 बजीसम्म अनि साँझ 5 बजीदेखि 8 बजीसम्म खुल्ला रहनेछ। यदि 8 बजीपछि पनि कुनै दोकानहरू खुल्ला रहेको खण्डमा ती दोकानहरूविरुद्ध कानुनी कार्वाही गरिने भएको छ। अर्कोतिर, व्यवसायीहरूले आजको बैठकको निर्णयलाई सराहना गरे। उक्त बैठकमा जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मन, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पूर्णिमा राय, बेलाकोवा आउटपोस्टका ओसी लक्ष्मण पोख्रेल लगायत इलाकाका व्यवसायीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *