आरिया डिजिटल अडियो म्यूजिक भिडियो कम्पनी विषयमा सचेतना सभा

खरसाङ (निसं) : खरसाङको गोर्खा पुस्तकालय भवनमा आरिया डिजिटल अडियो म्यूजिक भिडियो कम्पनी विषयमा सचेतना सभा सम्पन्न भएको छ। उक्त किसिमको सचेतना सभा यस अघि सिक्किम, कालेबुङ, दार्जीलिङमा एरिया डिजिटलको सचेतना बैठक सम्पन्न राखी सकेको जानकारी प्राप्त भएको छ। यस सभालाई खरसाङका संगीतकार तथा संगीत संयोजकहरू महेश्वर लामा, सुमन लामा अनि उपेन्द्र प्रधानले खरसाङमा आयोजन गरेका थिए। आरिया डिजिटल एउटा ट्रस्ट हो अनि यस ट्रस्टका सेटलर अमर योञ्जन अनि ट्रष्ट्रि अजय राई, किरण छेत्री, विपिन स्याङ्देन, सचिन प्रधान अनि सुरजमणी प्रधान रहेका छन्। संस्थाका संस्थापक अमर योञ्जनले आर्या डिजिटल अडियो म्युजिक भिडियो कम्पनी खोलिनु पर्ने औचत्यबारे प्रकाश पारेका थिए। अमर योञ्जनले वर्तमान समयमा कलाकारहरुले भोग्न परेका पीडा अनि सही मञ्च नपाएको कुराहरू सभामा राखे। उनले अब सबै कलाकारहरु आरिया डिजिटलसँग आबद्ध भएर अघि बढ्ने आग्रह गरेका छन्। कार्यक्रममा किरण छेत्रीले पनि संस्थाको कतिपय तक्निकी कुराहरू राखे। यो युट्यूब च्यानलले के कस्तो काम गर्नेछ अनि कलाकारले के कस्तो फाइदा पाउनेछ यस युट्यूब च्यानलबाट भन्नेबारेमा सबै कलाकारहरुलाई अवगत गराएका थिए। उक्त सभामा वरिष्ठ सङ्गीतकारहरू वसन्त छेत्री, गोबिन्दसिंह घतानी, पुरण गिरी, दिवस गुरुङ, सुमन लामा, राकेश लामा, रुपेश रसाईली, नम्रता बल, अजय राई, किरण छेत्री, सचिन प्रधान आदि उपस्थित रहेका थिए। यस सभालाई अजय राईले सञ्चालन गरेका थिए भनी संगीतकार महेश्वर लामाले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *