आशिष तामाङको शहीद वेदी निर्माणको लागि शिलान्यास

सुकेपोखरी : गोर्खाल्याण्ड आन्दोलनको समय विगत 17 जुलाई 2017-मा नागरी धजे समष्टि अन्तर्गत पर्ने मगरजोङ निवासी आशिष तामाङ शहीद भएका थिए। अब तिनैको नाममा शहीद वेदी राङभाङ पर्यटन केन्द्रमा निर्माण गरिने भएको छ। आज उक्त शहीद वेदी निर्माण कार्यको भूमि पुजा तथा शिलान्यास गरियो। शहीद आशिष तामाङकी स्वास्नी मैना तामाङ, छोरा दिपेश तामाङ, छोरी दीपा तामाङ, गोजमुमो बिमल खेमा मिरिक महकुमा अध्यक्ष सुमन राई, महकुमा सदस्य हेमकुमार तामाङ आदिको उपस्थितिमा उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरियो। यस अवसरमा गोजमुमो मिरिक महकुमा समितिका अध्यक्ष सुमन राईले  जाति र माटोको लागि प्राणको आहुती दिने शहीदलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्ने कार्य भएको बताए। गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका आशिषको शहीद वेदी चाँड़ै निर्माण गरिने साथै शहीदको योगदानको कदर गर्दै तिनको बलिदान त्यसै खेरो जान नदिने राईले बताए। शहीद वेदी निर्माणको लागि एउटा कमिटी पनि गठन गरिएको तिनले बताए। शहीद आशिष तामाङकी स्वास्नी मैना तामाङले चार वर्षपछि आफ्नो लोग्नेको त्यागको सही मूल्याङकन भएकोमा खुशी व्यक्त गरिन्। गोजमुमो मिरिक महकुमा समिति, चामुङ पोख्रेबुङ समष्टि अनि नागरी धजे समष्टिले यसको लागि पहल गरिदिएपछि अन्ततः आशिष तामाङको शहीद वेदी निर्माण गरिने भएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *