आवासीय इलाकामा रहेको अवैध पोल्ट्री फार्म हटाउने मागमा इलाकवासीहरूद्वारा विरोध प्रदर्शन

सिलगढी : सिलगढी संलग्न पूर्व माझाबारीको शालतला इलाकामा अवैध रूपमा पोल्ट्री फार्म बनाइएको छ। उक्त पोल्ट्री फार्मबाट दुर्गन्ध आउने गरेकोले गर्दा धेरैजना मानिसहरू बिरामी भएका छन्। यसको साथै स्थानीय मानिसहरूलाई उक्त सड़क भएर हिँड्डुल गर्न समेत असुविधा भइरहेको छ। पोल्ट्री फार्मका मालिकलाई यसबारे बारम्बार अवगत गराए तापनि कुनै पहल गरेको छैन। यसको साथै आशीघर आउटपोस्टमा पुलिसलाई यसबारे सूचना दिए तापनि हालसम्म कुनै कदम नउठाएको स्थानीयहरूको आरोप रहेको छ। यसैले आज स्थानीय मानिसहरू एकजुट भएर पोल्ट्री फार्ममा गएर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर आशीघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर स्थानीय मानिसहरूसित कुराकानी गरेपछि परिस्थिति नियन्त्रित गरेको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार उक्त अवैध पोल्ट्री फार्मलाई यहाँबाट एक-दुई दिनको अवधिमा हटाइयोस्। यसले गर्दा आफूहरूलाई निक्कै समस्या भइरहेको छ। विशेष गरेर नानी तथा वृद्ध-वृद्धाहरूलाई समस्या भइरहेको छ। यदि यसबारे पुलिस प्रशासनले कुनै कार्वाही नगरेको खण्डमा आगामी दिनमा आफूहरूद्वारा कार्वाही गरिने बताए। यस सम्बन्धमा इलाकाको पञ्चायत सदस्यले भने, उक्त पोल्ट्री फार्मको लागि आफूसित कुनै अनुमति नलिएको साथै आफूलाई जानकारी समेत गराएको थिएन। यसबारे पोल्ट्री फार्मका मालिकसित फोन मार्फत् सम्पर्क गर्दा तिनले कुनै ठाउँ हेरेर पोल्ट्री फार्मलाई अन्यत्र सार्नको लागि आफूलाई केही समय मागेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *