आफ्नो वचन पूरा गर्ने आह्वान गर्दै विपक्षी 9 जना सभासदले जीटीए प्रमुख कार्यपाल अनित थापालाई लेखे पत्र

दार्जिलिङ (निसं) : आफ्नो वचन पूरा गर्ने अपिल गर्दै विपक्षका नौ जना सभासदहरूले जीटीए प्रमुख कार्यपाल अनित थापालाई पत्र लेखे। गत 9 सेप्टेम्बरको दिन कालेबुङको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीए प्रमुख कार्यपाल अनित थापाले चिया श्रमिकहरूलाई तिनीहरूको अधीनमा रहेको सबै जमीनको पटटा दिलाउँने वाचा गरेकोले यस विषयलाई ध्यानमा राख्दै विपक्षी निर्वाचित सभासद अजय एडवाडर्स, सभासद विनय तामाङ, सभासद रोबर्ट छेत्री, सभासद रूबेन् दास प्रधान,सभासद सन्नी बम्जन,सभासद जितेन राई,सभासद सुरज राई,सभासद पाल्देन तामाङ,सभासद प्रतीम सुब्बाले आज अनित थापालाई पत्राचार गरेका छन। जीटीए मुख्यालय लालकोठीमा पठाएको पत्रमा विपक्षी निर्वाचित नौ जना सभासदहरूको हस्ताक्षर रहेको छ। स्मरण रहोस, राज्य सरकारको भूमि सुधार विभागले गत केही महिना अघि एउटा अधिसूचना जारी गरेर चिया बगानका श्रमिकहरूलाई अधिकतम पाँच डेसिमल पट्टा दिने घोषणा गरेर सर्वे कार्य शुरू समेत गरिसकेको थियो।


तर राज्य सरकारको भूमि सुधार विभागद्वारा जारी गरिएको उक्त अधिसूचनालाई चिया श्रमिकहरूले विरोध जनाउँदै आइरहेका थिए। श्रमिकहरूको विरोध दिन प्रतिदिन चुलिँदै गएपछि राज्य सरकारको भूमि सुधार विभागले अर्को अधिसूचना जारी गरेर अधिकतम पाँच डेसिमल पट्टाको सर्वेलाई अहिलेलाई स्थगित गरिदिएको छ। यसै अवधि कालेबुङको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जीटीए चिफ अनित थापाले चिया श्रमिकहरूको सबै जमीनको हक र अधिकारी दिलाउने वाचा गरेका थिए। निर्वाचित नौ जना सभासदहरूले जीटीए चिफ अनित थापालाई पाँच डेसिमल पट्टाको अधिसूचनालाई पूर्ण खारिज गरेर चिया श्रमिकहरूको सबै जमीनको हक र अधिकार दिलाउने अपिल गरेको छ। पत्रमा सभासदहरूले जीटीए प्रमुख कार्यपाल अनित थापा समक्ष जीटीए सभाको सभा बोलाउने अनुरोध पनि गरेका छन। पिता पूर्खाहरूले कमाउँदै आएको सबै जमीनहरू चिया श्रमिकहरूकै नाममा हुनपर्छ भन्ने आफुहरूको अडान रहेको कुरा पत्रमा उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *