आग्नेयास्त्रसहित 9 जना पक्राउ

सिलगढी : फाँसीदेवा थाना पुलिसले आग्नेयास्त्रसहित 9 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मोहम्मद जामाल (30), बादिरूल इस्लाम (31), हबिबुर रहमान (45), नुर इस्लाम (23), साफुजुल इस्लाम (24), उस्मान अलि (26), मोहम्मद कालिम (24), मकलेश्वर रहमान (35), मोहम्मद खालेक (24) सामेल छन् भने तिनीहरूमध्ये मोहम्मद जामाल बङ्ग्लादेश निवासी हुन्। प्राप्त जानकारीअनुसार गत राति हाप्तियागछ इलाकामा पुलिसले पेट्रोलिङ गरिरहेको समय सन्देह लागेर एउटा वाहनलाई रोक्ने प्रयास गरे तापनि असफल भए। यसपछि उक्त वाहनको पछि गरेर चटहार्ट नजिक उक्त वाहनलाई रोकेर छानबीन गर्दा दुईवटा पिस्तोल, 16 राउण्ड जिउँदो कार्तुस, केही मोबाइलहरू उद्धार गर्नको साथै चार चक्के वाहन पनि जफत गरेको छ। यसको साथै पुलिसले वाहनमा सवार 9 जना युवकलाई पनि पक्राउ गर्यो। ती युवकहरूले डकैती गर्ने उद्देश्य लिएर वाहन सवार भएर गइरहेको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। पक्रा परेका 9 जना युवकलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *