अजय एडवार्डसको पहलमा बन्द चियाकमानहरूमा राहत सामग्री वितरण

दार्जिलिङ: हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवार्डसको पहलमा बन्द चियाकमानहरू राहत सामग्री वितरण गरियो। हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले दिएको वचन अनुसार हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङले आलुबारी फुलबारी, रम्बुक सिर्डस आदि क्षेत्रहरूमा राहत सामग्रीहरू वितरण गरे। गत केही दिन अघि अजय एडवार्डस र तिनको टोली बन्द अम्बोटिया चियाकमान गएका थिए। त्यस अवधि तिनले चिया श्रमिकहरूको दुखेसो सुनेर एक-एक सय परिवारहरू गर्दै क्रमैसित राहत समाग्री वितरण गर्ने वचन दिएका थिए। यसै वाचा अनुसार अजय एडवार्डसले एडवार्डस फाउण्डेशनको मार्फत् बन्द चियाकमानहरू राहत सामग्री प्रदान गर्दै आइरहेको छ।


यसको साथै तिनले चियाकमानका रोगीहरूको अवस्थालाई ध्यानमा राख्दै नियमित रूपमा सेवन गर्ने औषधीहरू पनि वितरण गर्नको साथै मेडिकल क्याम्पहरूको पनि आयोजना गरेर निःशुल्क औषधीहरू वितरण गरेको बताइएको छ। यसबाहेक तिनले नेत्र जाँच शिविरको आयोजना गरेर वृद्धहरू लगायत आँखा कमजोर हुनेहरूलाई निःशुल्क चश्मा दिने घोषणा पनि गरेका छन्। उक्त राहत वितरणको क्रममा केन्द्रीय अध्यक्ष डीके गुरूङले अर्गेनिक टी कम्पनी लगायत पहाडको अन्य चियाकमानहरूको समस्याहरू सुनेर यसबारे इमान्दारिताको साथमा काम गर्ने वचन पनि दिए। हाम्रो पार्टी पैसा कमाउनु होइन तर जनता एवम् श्रमिकहरूको सेवा गर्न गठन भएको पार्टी हो भनी तिनले बताए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पठाएको राहत समाग्री पाएर स्थानीय मानिसहरूले तिनी लगायत फाउन्डेसनप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *