अजय एड्वर्डले गरे चुङथुङ मेरिबुङ समष्टिको परिभ्रमण

दार्जिलिङ : गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले आफ्नो समष्टि परिभ्रमण जारी राख्दै सांङ्ठानिक एवम् राजनैतिक बिस्तारको लागि आज चुङथुङ मेरिबुङ समष्टिको परिभ्रमण गरे। चुङथुङ मेरिबुङ समष्टिका जनता अनि कर्याकर्ताहरूले तिनलाई खदा माला लगाएर स्वागत जनाए। यस अवसरमा तिनले आज समष्टिका विभिन्न शाखाहरूको भ्रमण गरेर कार्यकर्ताहरूसित भेटघाट गरी साङ्गठनिक बिस्तार अनि राजनैतिक गतिविधिहरूमाथि चर्चा परिचर्चा गर्दै संगठनको गतिविधिहरूको सम्पूर्ण जानकारी लिए। शाखाहरूको भ्रमणपछि मेम शाखा सर्वजानिक भवनमा बसेको सभामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै तिनले वर्तमान पहाडको राजनैतिक गतिविधि अनि अन्य राजनैतिक विषयमा ध्यान नदिएर केवल आफ्नो पार्टीको कार्यक्रमहरू लगायत साङ्गठनिक बिस्तारमा ध्यान दिने कार्यकर्ताहरूलाई निर्देश दिए। यसको साथै तिनले मुद्दा थन्काएर जातिप्रति आघात पुर्‍याउनेहरूको पछि नलाग्ने अपील गर्दै दिल्लीमा गोरामुमो अध्यक्ष मन घिसिङ अनि गठबन्धन दलका नेतृत्वहरूले तपाईँ हाम्रो निम्ति कार्य गरिरहेको बताए। केन्द्र सरकारले हामीलाई चाँडै नै न्याय दिनेछ, सुर्ताउनु पर्दैन भनी तिनले बताए।


आगामी दिनहरूमा पार्टीले बृहत् रूपमा कार्यक्रमहरू गर्ने भएकोले यसको निम्ति प्रत्येक समष्टिका सम्पूर्ण प्रतिनिधिहरू, कार्यकर्ताहरू तयार रहनुपर्ने तिनले निर्देश दिए। सभामा केन्द्रीय सदस्य वाई लामाले गत दिल्लीमा भएको बैठकको बारेमा जानकारी गराए। एचपीडब्लूयुयु केन्द्रीय अध्यक्ष डीके गुरुङले चियाश्रमिकहरूको निम्ति के-कस्तो गतिविधिहरू भइरहेको छ भन्नेबारे सभामा सबैलाई जानकारी गराए। आजको सभामा समष्टि सभापति जेके राई, समष्टिका सम्पूर्ण प्रतिनिधिहरू उपस्थित थिए। यसपछि ब्राञ्च अध्यक्ष अजय एड्वर्डले आफ्नो समाजिक सेवा अभियान अन्तर्गत बिमारीहरूलाई भेटघाट गर्दै विपन्न परिवारका बिमारीहरूलाई आर्थिक सहयोग साथै उपचार समेत गराउने वचन दिए। यसको साथै तिनले समष्टिका युवाहरूसित भेटघाट गरी विभिन्न खेलहरूको निम्ति सहयोग पुर्‍याउने वचन दिएको मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *