अखिल भारतीय आदिवासी बिकास परिषदद्वारा राज्यको बजेटलाई स्वागत

बानरहाट: भर्खरै मात्र राज्य सरकारद्वारा पारित गरिएको बजेटको स्वागत जनाउन अखिल भारतीय आदिवासी बिकास परिषदका राज्य कमिटी अध्यक्ष राजेश लाकडा उर्फ टाइगरले आज बानारहाट तरुण संघ मैदानमा एक प्रेसवार्ता गरेका थिए। राज्य सरकारद्वारा पारित गरिएको यस बजटले चिया कमानका मानिसहरुलाई धेरै फाइदा पुग्न सक्ने तिनले बताए। जय जोहार प्रकल्पको अनुसार चिया कमानका एससी अनि एसटी समुदायका 60 वर्ष पूरा गरेपछि पनि पेन्शन पाउन नसकेका मानिसहरूका निम्ति अब पेन्शन व्यवस्था शुरू गरेकोले धेरै सुविधा पुग्ने तिनले बताए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई सबैले दिदी भने तापनि टाइगरले आज प्रेसवार्तामा आदिवासी समुदायको लागि तिनी दिदी नभएर आमा सरह बनेको बताए। आगामी दिनमा मुख्यमन्त्रीलाई धन्यवाद जनाउन उनी कलकत्ता जाने बताए। यसैगरी चिया श्रमिकहरुको निम्ति चा सुन्दरी प्रकल्पको माध्यमद्वारा चिया कमानका गरिब अनि असाह्य परिवारहरुलाई घर बनाइदिने घोषणाको पनि स्वागत गर्न तिनी पछि परेनन्। आगामी दिनको कार्यक्रमबारे पत्रकारहरुद्वारा सोधिएको प्रश्नको जवाबमा तिनले केही दिनपछि कमिटीका सदस्यहरूको सभा बसेर निर्णय लिइने जानकारी दिँदै आज केवल मुख्यमन्त्रीलाई धन्यवाद दिनको निम्ति मात्र यो कार्यक्रम रहेको बताए। आजको यस प्रेसवार्ता कार्यक्रममा धुपगुडी ब्लक अध्यक्ष फुलचन्द खाखाजिल्ला कमिटी सचिव रञ्जित एक्का, नागराकाटा ब्लक अध्यक्ष अनुप लाकडा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *