एकीकृत कर्मचारी संगठनलाई विघटन गरी जीटीए कर्मचारी संगठन गठन

खरसाङ : जीटीएमा कार्यरत अस्थायी कर्मचारीहरूको संगठन एकीकृत कर्मचारी संगठनलाई विघटन गरी नयाँ संगठन जीटीए कर्मचारी संगठन गठन भएको छ। अघिको एकीकृत कर्मचारी संगठनको खरसाङमा आज नै विघटन गर्दै नयाँ संगठन जीटीए कर्मचारी संगठन गठन गरियो। उक्त संगठनको झण्डा अनि लोगोको जीटीए अध्यक्ष अनित थापाले उद्घाटन गरे। उक्त झण्डा संगठनका संयोजक सन्दीप बललाई हस्तान्तरण गरियो। खरसाङको टाउन कम्युनिटी हलमा सन्दीप बलको सभापतित्वमा सम्पन्न सभामा मुख्य अतिथिको आशनबाट बोल्दै जबसम्म आफू जीटीए अध्यक्ष रहनेछन् तबसम्म अस्थायी कर्मचारीहरूको स्थायीकरणको निम्ति राज्य सरकारलाई अवगत गराउँने अनि आग्रह गर्ने बताउँदै यसको निम्ति सय प्रतिशत कार्य गर्ने बताए। तिनले कर्मचारीहरूलाई छुट्टिएर होइन तर एकसाथ मिलेर आफ्नो स्थायीकरणको मागमा अघि बढ्ने आग्रह गर्दै आफू सँधै साथमा रहेको बताए। थापाले झण्डाले कहिले पनि तिनीहरूको स्थायीकरण नगर्ने स्पष्ट पार्दै स्थायीकरणको निम्ति एकबद्धता र सही नेतृत्वको आवश्यकता रहेको जनाए। यस अवधि जीटीए कर्मचारी संगठनका संयोजक सन्दीप बलले अबउसो एकीकृत कर्मचारी संगठन नरहेको जनाउँदै नयाँ संगठन जीटीए कर्मचारी संगठन गठन भएको बताए। यसको विस्तारको निम्ति सबै क्षेत्रका प्रतिनिधिहरूलाई लिएर सभा गरी संगठन विस्तारको निम्ति योजना बनाइने तिनले अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *