अलिपुरद्वारको शामुकतलामा सडक दुर्घटनामा 2 जनाको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वारको शामुकतला राष्ट्रिय राजमार्गको तालेश्वरगढी चौपथी इलाकामा सडक दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मृतकहरूमा मदन सूत्रधर र मदन पण्डित सामेल छन्। प्राप्त जानकारी अनुसार एउटा यात्री बोकेको अटो शामुकतलाबाट अलिपुरद्वारतर्फ गइरहेको समय तालेश्वरगढी चौपथी इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा बाइकसित ठोक्किँदा बाइकमा सवार 2 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। गम्भीर घाइते अवस्थामा तिनीहरूलाई उद्धार गरेर यशोडाङ्गा ग्रामीण अस्पतालमा लगे तापनि तीमध्ये मदन सूत्रधरलाई चिकित्सकले मृत घोषित गरिदिए। अन्य घाइते मदन पण्डितलाई प्राथमिक उपचारपछि अलिपुरद्वार जिल्ला अस्पतालमा लगिरहेको समय बाटोमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर शामुकतला थाना पुलिस घटनास्थलमा पुगेर अटो र बाइक आफ्नो नियन्त्रणमा लिएर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, घटनापछि अटो चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *