अल्पसंख्यकहरूबाट तृणमूलले केवल भोटको फाइदा उठाएको मन्त्री जोन बारलाको आरोप

सिलगढी : अल्पसंख्यक मानिसहरूको लागि तृणमूल सरकारले केही गरेको छैन, केवल भोट लिएर राजनीति फाइदा उठाइरहेको माइनोरेटी विकास राज्य मन्त्री जोन बारलाले आज सिलगढीमा यस प्रकारको मन्तव्य पोखे। तिनले आज पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तथा तृणमूलमाथि कटाक्ष कसे। तिनी आज बाघडुग्रा विमानअड्डामा आइपुगेपछि भाजपाका नेता तथा कार्यकर्ताहरूले तिनलाई स्वागत जनाए। यसपछि तिनले सिलगढीको मल्लागढीस्थित पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। यस अवसरमा तिनी बाहेक दार्जिलिङका भाजपा सांसद राजु विष्ट, जलपाईगढीका सांसद जयन्त राय तथा भाजपाका विधायकहरू उपस्थित थिए। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, तृणमूलका नेता तथा कार्यकर्ताहरू भयभीत भइरहेकोले गर्दा नै आज सिलगढीको विभिन्न ठाउँबाट भाजपाका धेरैजना नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ। राज्यमा तृणमूल कङ्ग्रेसको नीति सबै जनताले थाहा पाइसकेको छ। यसैले आउँदो लोकसभा चुनाउमा जनताले यसको जवाब भोटद्वारा दिइनेछ भनी तिनले बताए। गत विधानसभा चुनाउमा जनताको आस्था भाजपाप्रति रहे तापनि तृणमूल पार्टीले विभिन्न नीतिहरू अप्नाएर विविध प्रलोभन देखाएर आफूहरूप्रति आकृष्ट गरेर भोट हत्याएको तिनले आरोप लगाए। केन्द्र सरकारले बङ्गालमा विविध केन्द्रीय योजनाहरूमार्फत् विकास गर्न चाहेको भए तापनि राज्य सरकारले गर्दा नै केन्द्रीय विकासबाट बङ्गालका जनता वञ्चित रहेको मन्त्री जोन बारलाले बताए। अर्कोतिर, दार्जिलिङका सांसद राजु विष्टले भाजपा नेता तथा कार्यकर्ताहरूलाई सिलगढीमा पुलिसले पक्राउ गरेकोमा क्षोभ प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *