अमर लामा व्यवसायिक क्षेत्रका किङ्ग कस्टमर जस्तै राजनीतिक क्षेत्रका किङ्ग पोलिटिसियन हुन् : सुरज धड्कन

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको यसपालीको दार्जिलिङ नगरपालिका चुनाउको लागि चेयरम्यान पदको प्रार्थी अमर लामा व्यवसायिक क्षेत्रका किङ्ग कस्टमर जस्तै राजनीतिक क्षेत्रका किङ्ग पोलिटिसियन हुन् भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जिलिङ महकुमा समितिका प्रवक्ता सुरज धड्कनले बताए। तिनले आज पार्टीको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै जति जति दार्जिलिङ नगरपालिका चुनाउको मिति नजिक आउँदैछ उति नै भागोप्रमो-लाई हराउनको लागि कतिपय मानिसहरूले सामाजिक सञ्जालतिर दुष्प्रचारको हद पार गर्दै गइरहेछन् भनी आरोप लगाउँदै तिनीहरूले आफ्नो पक्ष राख्नको साटो अमर लामाको अनुहार घमण्डी भयो, यस्तो घमण्डी अनुहार भएका व्यक्तिले कसरी नगरपालिका चलाउँछ? भन्दै तर्कभन्दा धेरै व्यक्ति निन्दा गरिरहेका छन् र योभन्दा तल्लो स्तरको कार्य अरू के हुन सक्छ? तर नगरपालिका अध्यक्ष पदको निम्ति अमर लामा एकजना योग्य प्रार्थी हुन् यसमा कुनै सन्देह छैन भनी बताए। भागोप्रमो दार्जिलिङ महकुमा समितिका प्रवक्ता सुरज धड्कनले प्रेस विज्ञप्तिमा अघि भनेका छन् – तिनको योग्यता र राजनैतिक अनुभवबारे प्रश्न गर्ने ठाउँ नपाएपछि अनुहारको बनोटलाई तारो बनाउँदै टिप्पणी गर्नेहरू कुन हदसम्मका मानसिक रोगीहरू हुन् – त्यसको मापदण्डबारे व्याख्या गरिरहनु पर्दैन। कुनै पनि व्यक्तिलाई अनुहारले होइन, उसको कर्मले चिनाउँछ। अमर लामा पनि एकजना कर्मयोगी नेता हुन्। यसैले तिनको प्रतिद्वन्द्विता सबैमाथि भारी परिरहेको छ। यो कुरा कतिपय विपक्षी दलका कार्यकर्ता र छद्मभेषी सचेत जमातलाई मन परिरहेको छैन। यसैले तिनीहरू जनताका अघि अमर लामाको छवि धमिल्याइदिनको लागि सबै प्रकारका युक्तिहरू अपनाइरहेका छन्। वास्तवमा अमर लामा जस्ता देखिन्छन्, त्यस्ता छैनन्। तिनको जस्तो अनुहार र एटिट्युड भएका मानिसलाई व्यवसायको क्षेत्रमा किङ्ग कस्टमर भनिन्छ।”


तिनले अझ भने,  अनुहार, बोली र एटिट्युड कडा खालका देखिए तापनि मन र व्यवहारले ग्राहकहरूमध्ये सबैभन्दा श्रेष्ठ राजा ग्राहक एवम् किङ्ग कस्टमर हुन्छन् भन्ने मान्यता व्यवसायको क्षेत्रमा व्याप्त रहेको पाइन्छ र यसै परिपेक्षमा अमर लामा पनि व्यवसायिक क्षेत्रका किङ्ग कस्टमरजस्तै राजनीतिक क्षेत्रका किङ्ग पोलिटिसियन हुन् भनी बताए। नयाँ दार्जिलिङको परिकल्पनाले साकार रूप पाउँछ भने उनकै नेतृत्व र कार्यक्षमतामा पाउनेछ भन्दै यो कुरा दार्जिलिङका जनताले स्पष्ट बुझिसकेका छन् भनी धड्कनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *