अम्बटे चियाबारीका श्रमिकहरूलाई लगाइयो कोरोना भ्याक्सिनको पहिलो खोप

खरसाङ: खरसाङ सहरदेखि केही तलतिर रहेको अम्बटे चियाबारीका श्रमिकहरूलाई पनि कोरोना भ्याक्सिनको पहिलो खोप लगाइयो। स्थानीय साईमन लेभर्ट स्कुल प्राङ्गणमा कोभिड भ्याक्सिनको पहिलो खोप लगाइयो। बसेरी गाउँमा राखिएको उक्त क्याम्पमा पाँचघरे, टार, सिरीषे, जगसिङ, गोदामधुरा, कोठीगाउँ, कालीधुरा, कुम्हालटार र बसेरी गाउँका 45 देखि 92 वर्षसम्मका वयोवृद्ध लगायत दुई सयजनाले कोरोनाको खोप लगाए, जसमा वर्कर र नन् वर्कर सामेल थिए। अम्बटे चियाबारीका महाप्रबन्धक राजेन सुब्बाले बताए अनुसार स्वास्थ्य विभागलाई मोठ एक हजार जनाको सूची पठाए तापनि यस पल्टको क्याम्पमा केवल दुई सयजनालाई मात्र खोप लगाउने व्यवस्था भएको साथै आगामी दिनमा पनि यस्तो क्याम्प राखिने जानकारी दिए। श्रमिकहरूलाई खोप लाउँदा यदि ज्वरो आए वा चर्को अस्वस्थ भएमा बिरामीको स्थिति अनुसार विशेष छुट्टीको व्यवस्था गरिने पनि थप जानकारी दिँदै सुकुना स्वास्थ्य केन्द्रप्रति तिनले आभार व्यक्त गरे। अम्बटे चियाबारीको आयोजनामा राखिएको उक्त भ्याक्सिन खोप क्याम्पमा सुकुना स्वास्थ्य केन्द्रका एएनएम तथा अन्य स्वस्थ्य कर्मीहरूको विशेष भूमिका रहेको थियो। यसबारे अम्बटेका नर्सिङ स्टाफ अनिता गुरूङले बताए अनुसार उक्त क्याम्पलाई सफल बनाउनमा स्थानीय स्वास्थ्य कर्मी, आशा कर्मी, अम्बटे हस्पिटलका कर्मचारी, खरसाङ थानाका पुलिस कर्मी, सिबिक भोलेन्टियर लगायत बसेरी गाउँका समाजसेवीहरूको पनि उत्तिकै योगदान रहेको थियो। सम्बन्धित स्वास्थ्य विभागसँग हाल यातायात साधनको अभावलाई ध्यानमा राख्दै अम्बटे चियाबारीको तर्फबाट वाहनको पनि व्यवस्था गरिएको थियो। आजको क्याम्पमा पहिलो खोप लगाउनेहरूले अबको ठीक 84 दिनपछि दोस्रो खोप लगाउने जानकारी सुदर्शन प्रधानले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *