अम्बटेमा वरिष्ठ नागरिक कल्याण संगठनको तेस्रो स्थापना दिवस पालन

खरसाङ (निसं): खरसाङको अम्बटेस्थित पाँच घरे सार्वजनिक भवनमा वरिष्ठ नागरिक कल्याण संगठन पाँच घरेको तेस्रो स्थापना दिवस संगठनको संरक्षक जेष्ठ नागरिक भूपाल राईको अध्यक्षतामा सम्पन्न एउटा कार्यक्रमबीच मनाइयो। यस अवसरमा पुरानो कमिटी विघटन गरी नयाँ कमिटी गठन गरियो। उक्त नयाँ कमिटीमा अध्यक्ष दिपक थापा, उपाध्यक्ष फूर्बा घिसिङ, मूल सचिव निलमकुमार गिरी, उप-सचिव गौतम आले, कोषाध्यक्ष बलराम प्रधान, उप-कोषाध्य दिरप गिरी र  सल्लाहकारमा श्यामकुमार प्रधान र पूर्व अध्यक्ष कर्ण पुर्कुटीलाई चयन गरिएको छ। प्रमुख संरक्षक भूपाल राई र अध्यक्ष दिपक थापाद्वारा राष्ट्रपिता महात्मा गान्धीको तस्वीरमा धूप- दिप प्रज्वलन गरिएपछि हालै गाउँमा असामयिक दिवङ्गत भएका मृतात्माहरूको स्मरणमा चिर-शान्तिको निम्ति दुई मिनटको मौन धारण पालन गरियो। नवगठित कमिटीका मूल सचिव निलमकुमार गिरीले स्वागत भाषण राखेका थिए जसमा तिनले संगठन स्थापना गरिनुको औचित्य, उद्देश्य र मूल लक्ष्यहरूबारे प्रकाश पारे। यसको साथै विगत वर्षहरूमा संगठनद्वारा गरेका विविध प्रकारको सामाजिक क्रिया कलापहरू बारे विस्तृत रूपमा जानकारी गराए।त्यसपछि संगठनको तेस्रो स्थापना दिवसको उपलक्ष्यमा क्रमैले प्रमुख संरक्षक र वर्तमान अध्यक्षद्वारा केक काटेर उपस्थित सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई एवं मंगलमय शुभकामना टक्राइयो। अन्त्यमा संगठनको अध्यक्ष दिपक थापाले आफ्नो छोटो सम्भाषणमा उपस्थित सबैलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *