अम्बटेमा तीन दिवसीय चण्डी पुराण कलश यात्रसहित आजदेखि शुरू

खरसाङ: अम्बटे चियाबारीस्थित पाँच घरे ग्राम सुधार कल्याण समितिको आयोजनामा विश्व शान्तिको लागि आजदेखि तीन दिवसीय चण्डी पुराण होम आरम्भ भयो। बिहानको शुभ मुहूर्तमा सम्पूर्ण ग्रामवासीद्वारा प्रातःकालीन कलश यात्रा गरी गाउँको परिक्रमा गरियो। त्यसपछि पुनः पुजा स्थलमा आएर बिहानको आरती गरियो। प्राय: तीनसय घरहरूको समूह भएको साठी वर्ष पुरानो पाँचघरे ग्राम सुघार कल्याण समितिद्वारा आयोजित उक्त चण्डी पुराण अनुष्ठान लगायत तीन वर्षसम्म गरिने कुराको जानकारी समितिका मूल सचिव तुषार राईले जनाएका छन्। पाँचघरे सार्वजानिक भवनमा सम्पन्न भइरहेको यस पुराण अनुष्ठानका प्रमुख कर्ता बलराम प्रधानले दशैँ अनि तिहारको कारण यस वर्ष गाउँलेहरूले सोचे जस्तो कार्यक्रम हुन नसके तापनि आगामी वर्षहरूमा यसलाई भव्य रूपमा मनाइने बताए। अम्बटे गौमुखी शिव धामका पुजारी गंगा प्रसाद दाहालद्वारा पुराण यज्ञ व्यवस्था मिलाइएको यस अनुष्ठानमा खरसाङ र सिलगढी क्षेत्रका पण्डितहरूले यज्ञ गरिरहेका छन्। स्मरण रहोस्, अम्बटे चियाबारीको विभिन्न गाउँमा प्रत्येक वर्ष विभिन्न धार्मिक पुराणहरू हुँदै आएको छ भने यस चण्डी पुराणको पहिलो दिन अनुष्ठानमा गणेश छेत्रीका परिवारको तर्फबाट भण्डाराको आयोजना गरिएको सुदर्शन प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *