अमित शाहले गरे कालेबुङमा मेघा रोड शो, एनआरसीले गोर्खाहरूलाई प्रभाव नपर्ने आश्वासन

कालेबुङ : कालेबुङ विधानसभा समष्टिका भाजपा प्रार्थी शुभ प्रधानको समर्थनमा आज देशका गृहमन्त्री तथा भाजपा नेता अमित शाहले कालेबुङ सहरमा एउटा विराट रोड शो गर्नको साथै चुनावी सभालाई पनि सम्बोधन गरे। तिनले कालेबुङ क्षेत्रका महान व्यक्तित्वहरू क्रमैले गुरुजी मङ्गलदास महाराज, स्वतन्त्रता सेनानी जङ्गवीर सापकोटा अनि भारतीय संविधान सभाका सदस्यहरू डम्बरसिंह गुरुङ, अरिबहादुर गुरुङलाई स्मरण गर्दै आफ्नो सम्बोधन शुरू गरे। तिनले 1986-88 मा सत्तारूढ सीपीआईएम अनि त्यसपछि 2017 मा तृणमूलले गोर्खाहरूमाथि दमनकारी शासन चलाएर अन्याय अनि अत्याचार गरेको बताए। तर भाजपाको सरकार राज्यमा गठन हुनेबित्तिकै राजनीतिक हत्याका सबै मामिलाहरूको जाँच विशेष जाँच टोली (एसआईटी)-द्वारा गरिने अनि दोषीहरूलाई सजाय दिइने तर कुनै पनि दोषी व्यक्ति नछोड़िने तिनले आश्वासन दिए। अमित शाहले दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका जनतासँग भाजपाले सङ्कल्प पत्रमा गरेका वाचाहरू अवश्य पुरा गर्ने कुरा फेरि यसपल्टको चुनावी जनसभामा दोहोर्‍याए। यसैगरी, गोर्खाहरूको छुटेका 11 जात गोष्ठीलाई अनुसूचित जनजातिमा सामेल गरिने प्रक्रिया भाजपाको सरकार गठन हुनेबित्तिकै शुरू गरिने तिनले वचन दिए। यसको साथै स्थानीय संस्कृति एवम् परम्पराहरूको संरक्षणलाई लिएर तिनले भने, नेपाली भाषामा टेलिभिजन र रेडियो च्यानलहरू खोलेर नेपाली भाषालाई संरक्षित गर्ने भाजपाको योजना रहेको छ।


एनआरसी लागू गरेपछि एकैजना गोर्खामाथि पनि नकारात्मक प्रभाव पर्ने छैन भनी तिनले आश्वासन दिँदै टीएमसीद्वारा फैलाइरहेको सन्त्रास एवम् अफवाहमा ध्यान नदिने जनतासित अपील गरे। तिनले अझ भने, भाजपा सरकार चियाबगान, सिन्कोना बगान, वनबस्ती अनि डीआई फन्ड भूमिमा बसोबास गर्नेहरूलाई पर्जापट्टा प्रदान गर्न प्रतिबद्ध छ। बङ्गालमा भाजपाको सरकार सत्तामा आएको 6 महिनाको अवधिमा नै यसबारे पहल शुरू गरिनेछ। यसको साथै चियाबगानका श्रमिकहरूको दैनिक हाजिरा 350 रुपियाँ गरिने पनि तिनले बताए। टीएमसी सरकारद्वारा राज्यमा किसान सम्मान निधि लागू नगरिनाले किसानहरूलाई प्राप्त नभएको तिनीहरूको अधिकारको १८ हजार रुपियाँ पनि तुरुन्तै जारी गरिने बताए। अमित शाहले जनतालाई अधिकतम लाभ प्रदान गर्न आयुष्मान भारत, किसान सम्मान निधि, एक राष्ट्र-एक राशन कार्ड आदि जस्ता केन्द्रीय योजनाहरू राज्यमा भाजपा सरकार गठन हुने बित्तिकै लागू गरिने वचन दिए। यसको साथै तिनले भाजपा उम्मेद्वाहरूलाई मतदान गरेर विपुल मतले विजय गराउने सबैसित अपील पनि गरे। आजको रोड शो तथा चुनावी सभामा भाजपाको सहयोगी दल गोरामुमोका अध्यक्ष मन घिसिङ, दार्जिलिङका सांसद राजु विष्ट, भाजपा जिल्ला अध्यक्ष डा. कल्याण देवान, भाजपाका कालेबुङ विधानसभा उम्मेद्वार शुभ प्रधान लगायत  गठबन्धन दलका समर्थकहरू तथा भाजपा कार्यकर्ताहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *