अनित थापाको बाहुलीबाट सिपाहीधुरा र चैतेपानीका 86 जनालाई जमिनको पर्जापट्टा वितरण

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको सिपाहीधुरा, अप्पर चैतेपानी अनि लोवर चैती पानीका मानिसहरूलाई जमीनको पर्जापट्टा वितरण गरियो। जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत अन्यको बाहुलीबाट लगभग 86 जनालाई जमिनको पर्जापट्टा वितरण गरियो। उक्त पर्जा पट्टा वितरण कार्यमा जीटीए-का चेयरम्यान अञ्जुल चौहान, भाइस चेयरम्यान राजेश चौहान, सभासदहरू नुरी शेर्पा, श्याम शेर्पा, नवराज छेत्री, खरसाङ नगरपालिका चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ महकुमा शासक आईएएस एजाज अहमद, खण्ड विकास अधिकारी लक्ष्मण विस्वास लगायत अन्यहरू उपस्थित थिए। जमिनको पर्जापट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चिफ अनित थापाले सिपाहीधुरा र चैतेपानीका मानिसहरूले जमीनको पर्जापट्टा पाएका छन् र अब तिनीहरूले जमीनको अधिकार पनि पाएको बताए। अनित थापाले भने, पर्जा पट्टा वितरण गर्दा के थाहा लागेको छ भने चियाबारी क्षेत्रमा पनि जमिनको पर्जापट्टा वितरण गर्न सकिने रहेछ। त्यसैले हामी चियाबारी क्षेत्रमा पनि जमिनको पर्जापट्टा वितरण गर्नलाई सर्वेक्षण गर्न आउनेछौं। चियाबारी क्षेत्रमा पनि जमिनको पर्जापट्टा नितान्त आवश्यक रहेको देखिएको छ। कारण हाम्रो जमिन छ तर हाम्रो नाममा छैन अनि पुस्तौंदेखि बस्दै आएको जमिनको अधिकार हामीसित छैन। त्यसैले अब चियाबारी क्षेत्रमा पनि जमिनको पर्जापट्टा वितरण गर्नलाई सर्वेक्षण गर्नेछौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *