अन्ततः सांसद राजु विष्टको सहयोगमा कालेबुङको कुमुदिनी होम्स स्कुलका विद्यार्थीहरू दिल्ली प्रस्थान

सिलगढी दार्जिलिङका सांसद राजु विष्टले गरेको वाचा अनुसार आज बिहान कालेबुङको कुमुदिनी होम्स स्कुलका विद्यार्थीहरू बाघडुग्राबाट स्वीटजरल्याण्डको निम्ति दिल्ली प्रस्थान गरे। यी विद्यार्थीहरूले स्वीटजरल्याण्ड गएर आफ्नो कला प्रदर्शनीद्वारा हाम्रो क्षेत्र, गोर्खा जाति अनि देशको नाम रोशन गर्न सकुन् भनी तिनीहरूको टिकटको व्यवस्था गरिदिएको सांसद विष्टले बताएका छन्। तिनले दिएको जानकारी अनुसार हिजो आइतबार साँझ विमान परिसेवा रद्द भएपछि सांसद राजु विष्टको पहलमा आज बिहान तिनीहरू बाघडुग्राबाट दिल्ली प्रस्थान गरे भने त्यहाँबाट दोहा हुँदै ज्युरिक स्वीटजरल्याण्ड पुग्नेछन्। यसको साथै सांसद विष्टले दिल्लीमा ती विद्यार्थीहरूको लागि सबै सुविधाको व्यवस्था मिलाइदिएका छन्। दिल्लीमा तिनीहरूको अन्तर्राष्ट्रिय उडानको समय नहुँदासम्म ती विद्यार्थीहरू दिल्लीस्थित सांसद विष्टकै घरमा बस्नेछन् भने त्यहाँ तिनीहरूको देखरेख आफ्नै घरमा सरह गरिने भएको छ।


सांसद विष्टले यी विद्यार्थीहरूका अभिभावकहरू अनि सबै शुभचिन्तकहरूलाई निश्चिन्त बस्ने अनुरोध गरेका छन्। तिनले बताएअनुसार विद्यार्थीहरूलाई स्वीटजरल्याण्ड जानको लागि कुनै किसमको असुविधा हुने छैन। यद्यपि सम्बन्धित सबैको लागि यो घटना धेरै तनाउपूर्ण भए तापनि हाम्रा यी प्रतिभाशाली विद्यार्थीहरूको निम्ति उर्लिएको जनसमर्थन र माया देखेर आफू भावविभोर बनेको विष्टले बताए। हाम्रो क्षेत्रका जनतालाई यी विद्यार्थीहरूको निम्ति प्रार्थना गरेकोमा धन्यवाद दिँदै यी ऊर्जावान विद्यार्थीहरूले आफ्नो सङ्गीत र खुकुरी नृत्यको उत्कृष्ट प्रदर्शनद्वारा विश्वलाई आश्चर्यचकित पार्नेछन् अनि हाम्रो क्षेत्र र राष्ट्रको डंका विश्वभरि बजाएर स्वदेश फर्किने तिनले विश्वास व्यक्त गरेका छन्। यसको साथै तिनले विद्यार्थीहरूको ब्यान्ड टोलीलाई अग्रिम शुभकामना दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *