अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको मागमा सिलगढीमा धरना

सिलगढी : कावाखालीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गरिदिने मागमा आज सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गनाइजेसनका सदस्यहरूले तर्फबाट गाँधीजीको सालिगमुनि बसेर धरना प्रदर्शन गरे। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तीनदिने उत्तरबंग भ्रमणमा आएकी छन् भने आज तिनी सिलगढी आउने भएकोले मुख्यमन्त्री समक्ष उक्त माग उठाउने उद्देश्य लिएर अर्गनाइजेसनको तर्फबाट धरना प्रदर्शन गरेको बताइएको छ। उक्त धरना प्रदर्शनमा सिलगढी सहरका क्रिकेट लगायत अन्य विभिन्न खेलका पूर्व खेलाडीहरूसहित खेलप्रेमीहरूले अंश ग्रहण गरेका छन्। स्मरण रहोस्, अशोक भट्टाचार्य मन्त्री छँदा तिनले मतिगढास्थित उत्तरायनमा क्रिकेट स्टेडियमको लागि जमिनको व्यवस्था गरिदिएको थियो। तथापि, उक्त जमिनमा हालसम्म अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको निर्माण हुनसकेको छैन। उक्त मैदान केही वर्ष अघि क्रिकेट लीग प्रतियोगिता भएको थियो तर हाल त्यहाँ कुनै प्रकारको क्रिकेट प्रतियोगिताहरूको आयोजना गरिएको छैन। हाल सिलगढीको एकमात्र पुरानो स्टेडियम कञ्चजङ्घामा नै सबै खेलहरूको आयोजना हुने गर्दछ। यसैले क्रिकेट खेलको निम्ति एउटा अलग्गै अन्तर्राष्ट्रिय स्तरको स्टेडियम सिलगढीमा बनाइनुपर्ने धेरै अघिदेखि सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गनाइजेसनले माग गर्दै आइरहेको छ। संगठनका सभापति तथा पूर्व क्रिकेटर मनोज बर्माले बताएअनुसार यसभन्दा अघि पनि अर्गनाइजेसनको तर्फबाट सिलगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउनुपर्ने माग गर्दै राज्यका पर्यटनमन्त्री गौतम देवलाई भेटेर एउटा ज्ञापन पत्र समेत चढाइसकेको छ। राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढी सहरमा विभिन्न विकासमूलक कार्यहरू गर्दै आइरहेका छन्। यसैले यहाँका खेल प्रेमीहरूको निम्ति अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गरिदिए उचित हुने बताउँदै स्टेडियमको निर्माण गर्नाले सिलगढी सहरलाई पनि फाइदा पुग्ने मनोज बर्माले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *