अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा अंश ग्रहण गर्न खरसाङका खेलाडीहरू कोलकाता प्रस्थान

खरसाङ 28 जुलाई (निसं): खरसाङको एमएएफए अध्यक्ष सेन्सी सन्दीप प्रधानको नेतृत्वमा मार्शल आर्ट र फिटनेस एकेडेमीको 10 सदस्यीय टोली आगामी 30 र 31 जुलाई 2022 को दिन कलकत्ताको नेताजी इन्डोर स्टेडियममा हुने छैटौँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिनको निम्ति आज कोलकाता प्रस्थान गरे। च्याम्पियनसिप हरेक वर्ष आयोजना हुने भए तापनि कोभिड प्रोटोकलको कारण विगत दुई वर्षदेखि आयोजना हुन सकेको थिएन। अखिल भारतीय सेशिंकाई सितोरियो कराते-डो महासंघले आयोजना गरेको यो च्याम्पियनसिपमा दक्षिण अफ्रिका, इरान, मेक्सिको, अफगानिस्तान, टर्की, पूर्वी टिमुर, इटाली र सबै छिमेकी देशका खेलाड़ीहरू सहभागी हुने छन्।  यो प्रतियोगितालाई भारतको कराते महोत्सव पनि भनिन्छ। एमएएफए-को टोली दार्जीलिङ जिल्लाको टोलीमा सामेल हुनेछन् जसले थप अन्तर्राष्ट्रिय खेलहरूमा भारतको प्रतिनिधित्व गर्नेछ।


अध्यक्ष सन्दीप प्रधानले यस वर्ष विद्यार्थीहरुले निकै मेहनत गरी उपविभागीय तह, जिल्ला, राज्य, नागरिकदेखि लामो यात्रा तय गरी अन्तर्राष्ट्रिय च्याम्पियनसिपको बाटो तय गरेको जानकारी दिए। एमएएफए-का सयौं विद्यार्थीहरूमध्ये  अघिल्लो प्रतियोगितामा पहिलो स्थान जितेर यी केही विद्यार्थी मात्रै छनौट भएका छन्। तिनीहरुमा कृष्ण छेत्री, प्रयोधि प्रधान, रोजी प्रधान, सुशील छेत्री, ओम छेत्री, आयन राज राई, प्रयाण सुब्बा, मालविका खवास र बिनिशा खवास सामेल छन्। दार्जिलिङ जिल्लाको सम्पूर्ण टोली सिहान अनिल राईको नेतृत्वमा रहेको छ, जो टोलीको आधिकारिक प्रशिक्षक पनि हुन्। सेन्सी सन्दीप प्रधानले अन्तर्राष्ट्रिय मञ्चमा रेफ्री एण्ड जज गर्ने यो पहिलो पटक हो, जुन पहाड़को लागि गौरवको क्षण हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *