अशोक भट्टचार्यको समर्थनमा भाइचुङ भुटियाले गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाको वाम प्रार्थी अशोक भट्टाचार्यको समर्थनमा भारतीय फुटबल टोलीका पूर्व अधिनायक भाइचुङ भुटियाले आज सिलगढीमा चुनाउ प्रचार गरे। तिनले आज साँझ प्रार्थी अशोक भट्टाचार्यको साथमा एउटा वाहनमा सवार भएर महार्‍यालीको माध्यमद्वारा सिलगढी सहरमा चुनाउ प्रचार गरे। उक्त महार्‍याली सिलगढीको बाघाजतीन पार्कबाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्दै प्रार्थी अशोक भट्टाचार्यको पक्षमा चुनाउ प्रचार गर्दै तिनको पक्षमा मतदान गर्ने अपील गरे। यस अवसरमा माकपा नेता सुजन चक्रवर्ती र वामपन्थीका युवा उम्मेद्वार शतरूप घोष पनि उपस्थित थिए।


यस अवधि भाइचुङ भुटियाले गत 2016-को विधानसभा चुनाउमा आफूले सिलगढी विधानसभा आसनबाट तृणमूल प्रार्थीको रूपमा अशोक भट्टाचार्यविरुद्ध चुनाउ लड़ेको कुरा स्मरण गराउँदै अशोक भाट्चार्यसित आफ्नो सम्बन्ध धेरै वर्ष पुरानो रहेको बताए। मानिसहरूको हितको निम्ति काम गर्ने नेताहरू बंगालको राजनीतिमा धेरै कम्ती रहेको दावी गर्दै अशोक भट्टाचार्य जस्ता नेताको जनतालाई खाँचो रहेको तिनले बताए। अर्कोतिर, अशोक भट्टाचार्यले भने, चुनाउ प्रचार गर्नको लागि भाइचुङ भुटिया आइदिएकोमा म धेरै खुसी छु। राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्नु अति आवश्यक छ। स्मरण रहोस्, 2016 सालमा भाइचुङ भुटियाले सिलगढी आसनबाट तृणमूल प्रार्थीको रूपमा चुनाउ लडे तापनि माकपा प्रार्थी अशोक भट्टाचार्यसित पराजित भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *