असमबाट आएका साहित्यकारहरूलाई खरसाङ गोजपु-मा स्वागत साथै भेटघाट कार्यक्रम

खरसाङ (निसं): असमबाट आएका 4 जना साहित्यकारहरूसित आज खरसाङका साहित्यकारहरूले सौहार्द्रपूर्ण भेटघाट गर्नको साथै साहित्यिक कार्यक्रम पनि सम्पन्न गरे। असमबाट आएका साहित्यकारहरू र खरसाङका साहित्यकारहरूमाझ यहाँको गोर्खा जनपुस्ताकालय भवनको अध्ययन कक्षामा भेटघाट कार्यक्रम सम्पन्न भयो। असमबाट आएका 4 जना साहित्यकारहरू क्रमैले असम नेपाली साहित्य सभाका महासचिव एवम् साहित्यकार रूद्र बराल, साहित्यकार कृष्णनिरू कार्की, साहित्यकार एवम् असम नेपाली साहित्य सभाका सदस्य हेमन्त भट्टाराई, असम नेपाली साहित्य सभा उदालदडी जिल्लाका सभापति लक्ष्मण अधिकारी आदि उपस्थित थिए। तिनीहरू असमबाट दार्जिलिङ, खरसाङ, कालेबुङ, मङ्पू, सिक्किम क्षेत्रको साहित्यिक भ्रमणमा आएको बताइएको छ। यस अवसरमा गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट सबैलाई स्वागत जनाइयो। उक्त भेटघाट कार्यक्रमलाई पुस्ताकालयको सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए भने सभापति पूर्ण गुरुङ निरुपमले अध्यक्षता गरेका थिए। ती 4 जनालाई पुस्तकालयको पक्षबाट अध्यक्ष पूर्ण गुरुङ निरुपमको बाहुलीबाट खदार्पणसहित स्वागत जनाइयो। यस अवसरमा असमबाट आएका चारैजनाले आ-आफ्नो वक्तव्य राख्दै कविता पनि पाठन गरे। कार्यक्रममा असममा भइरहेको नेपाली साहित्य र यता दार्जिलिङ क्षेत्रमा भइरहेको नेपाली साहित्यिक गतिविधिहरू र साहित्यिक लेखन कार्य विषयमा चर्चा-परिचर्चा गरिएको छ। असमबाट आएका चारजना साहित्यकारहरूले गर्मीको छुट्टीको समयलाई सदुपयोग गरेर अनौपचारिक रूपमा साहित्यिक भ्रमणमा रहेको बताएका छन्। यस अवसरमा यता खरसाङको साहित्यकारहरूको पक्षबाट पनि कविता पठन साथै साहित्यिक गतिविधि र लेखन विषयमा चर्चा-परिचर्चा गरियो। खरसाङको पक्षमा प्रा. योगेश खाती, आशा मुखिया लामा, तिलक शर्मा, पूर्ण गुरुङ निरुपम, बिनोद रसाइली लगायत अन्यहरूले वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *