असम गोर्खा सम्मेलन-को 27औँ केन्द्रिय अधिवेशनमा मुख्यमन्त्री पीएस गोलेलाई निमन्त्रणा

गुवाहटी: असमका गोर्खाहरूको शीर्ष संस्था मानिने असम गोर्खा सम्मेलन-को एउटा उच्च स्तरीय समितिका सदस्यहरूको टोलीले आज गुवाहटीमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेसित भेट गरे। असम गोर्खा सम्मेलनका कार्यकारी अध्यक्ष कृष्ण भुजेलको अगुवाइमा टोलीले मुख्यमन्त्रीसितको भेट अवधि आगामी 15 देखि 17 मईसम्म असमको निकासीमा आयोजन हुने असम गोर्खा सम्मेलनको 27औँ केन्द्रिय अधिवेशनमा मुख्यमन्त्री पीएस गोलेलाई अतिथिका रूपमा सहभागी बनिदिनो निमन्त्रणा दिएको छ। सम्मेलनको निमन्त्रणालाई स्वीकार गर्दै मुख्यमन्त्रीले अधिवेशनको 17 मईमा हुने अन्तिम दिनको कार्यक्रममा सहभागी बन्ने वचन दिएका छन्।


16 मईमा सिक्किमको राज्य दिवस समारोह रहेकाले आफु 17 मईको कार्यक्रममा मात्र सहभागी बन्न सक्ने मुख्यमन्त्रीले असम गोर्खा सम्मेलनको टोलीलाई जानकारी गराए। भेटघाट क्रममा मुख्यमन्त्री गोलेले भारतका सबै गोर्खाको हितमा काम गर्नेबारे असम गोर्खा सम्मेलन टोलीलाई सुझाउ दिए। यस अवसरमा सिक्किमका पर्यटन मन्त्री बीएस पन्त, असम गोर्खा सम्मेलनको बोडोल्याण्ड रिजनका अध्यक्ष तथा असम मत्स्य पालन विकास बोर्डका उपाध्यक्ष दिलु शर्मा लगायत अन्यको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *