असमका नाबालिका सिलगढीको रेड लाइट एरियाबाट उद्धार

सिलगढी : असमको मोड़ी गाउँबाट निखोज भएकी नाबालिकालाई सिलगढी खालपाड़ा आउटपोस्ट पुलिस गत राति यहाँको रेड लाइट एरियाबाट उद्धार गर्न सफल बनेको छ। प्राप्त जानकारीअनुसार मोड़ी गाउँ जिल्ला अन्तर्गत तातिकाटा गाउँबाट एउटी नाबालिका केही दिनअघि अचानक निखोज भएकी थिइन्। यसपछि परिवारका सदस्यहरूले धेरै ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्तमा गत 19 जनवरीको दिन परिवारका सदस्यहरूले असमको मोड़ी गाउँ थानामा नाबालिका निखोज भएकोबारे एउटा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले नाबालिकालाई 50 हजार रुपियाँमा सिलगढीको रेड लाइट एरियामा बिक्री गरिदिएको थाहा पाएपछि मोड़ी गाउँ थाना पुलिसले सिलगढीको खालपाड़ा आउटपोस्टमा सम्पर्क गरे। यसपछि खालपाड़ा आउटपोस्टका ओसी अमृत्य चक्रवर्तीको नेतृत्वमा पुलिसले सिलगढीको रेड लाइट एरियामा अभियान चलाएर उक्त नाबालिकालाई उद्धार गरेको बताइएको छ। खालपाड़ा आउटपोस्ट पुलिसले उक्त नाबालिकालाई जलपाईगढीको सीडब्ल्युसी होममा पठाउनको साथै आरोपीको खोजी शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *