अटो चालकहरूद्वारा सिलगढीको सेभोक मोडमा विक्षोभ, एम्बुलेन्सहरूलाई पुग्यो बाधा

सिलगढी : सिलगढीको सेभोक मोडमा अवैध रूपमा अटो पार्किङ गर्ने गरेकोले जामको समस्या उत्पन्न भएपछि आज पुलिसले त्यहाँबाट सिटी अटो हटाउने निर्देश दिएपछि उल्टै सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे अटो चालकहरूले। यसले गर्दा घण्टौँसम्म धेरैवटा जरुरी परिसेवाका वाहनहरू असुविधामा पर्नको साथै एम्बुलेन्सले समेत जामको सामना गर्नपर्यो। यसपछि पुलिसले त्यहाँबाट अटोहरू हटाएपछि एम्बुलेन्सलाई अघि जान दिइयो। स्मरण रहोस्, धेरै दिन अघिदेखि सिलगढीको सेभोक मोडमा सडकको दुवै किनारमा अवैध रूपमा सिटी अटोहरू डबल लाइन गरेर पार्किङ गरेर राख्ने गर्दछ। धेरैपल्ट अटोका चालकहरूलाई पुलिस प्रशासनले त्यहाँबाट अटो हटाउने निर्देश दिए तापनि अटोहरू नहटाएको बताइएको छ। हाल कोरोनाको परिस्थितिमा दिनहुँ यहीँ सडक भएर एम्बुलेन्समा रोगीहरूलाई ल्याउने तथा लैजाने गरेको, अक्सिजन र औषधी बोकेको वाहनहरू पनि त्यहीँ सडक भएर आवत-जावत गर्ने गर्दछ। यस्तो परिस्थितिमा अटो चालकहरूले सोभोक मोड अवरोध गर्दा धेरैवटा वाहनहरू लगायत जरूरी परिसेवाको वाहनहरूले पनि धेरै समयसम्म आज जामको समस्या भोग्नु पर्यो। यसपछि पुलिस त्यहाँ गएर चालकहरूलाई अटो हटाउने निर्देश दिए तापनि तिनीहरूले उल्टै सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। घटनास्थलमा पुगेका पत्रकारहरूसित समेत अटो चालकहरूले अभद्र व्यवहार गर्नको साथै पुलिससित लगातार क्षोभ प्रकट गरेको बताइएको छ। यसको साथै सेभोक मोडका व्यवसायीहरूले पनि उक्त घटनाको निन्दा गर्दै अटो चालकहरूविरुद्ध आवाज उठाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *