अवैध शिक्षिकाको तालिकामा मेखलीगञ्जको इन्दिरा उच्च बालिका विद्यालयका शिक्षिकाको नाम सामेल

कुचबिहार : मेखलीगञ्ज विधानसभाको इन्दिरा उच्च बालिका विद्यालयका शिक्षिका कनिका बर्मनको नाम एसएससी वेबसाइटमा जारी अवैध शिक्षिकाको तालिकामा नाम आएपछि हाल तिनी स्कुल गएकी छैनन्। ओएमआर सिटमा धाँधली गरेर अङ्क बढाएर शिक्षिका बनेको तिनी विरुद्ध आरोप रहेको छ। स्मरण रहोस्, गत केही महिना अघि मेखलीगञ्ज विधानसभाको विधायक परेश चन्द्र अधिकारीको छोरी अङ्किता अधिकारीविरुद्ध गैर कानुनी रूपमा नोकरीमा नियुक्त गरिएको अभियोग उठेको थियो। बबीता सरकारको मामिलाको कारण अङ्किता अधिकारीलाई स्कुल शिक्षिकाको नोकरीबाट बर्खास्त गरिदिएको थियो। अदालतको आदेशअनुसार अङ्किता अधिकारीलाई स्कुलको नोकरीबाट हटाएर तिनको बद्लीमा बबीता सरकारलाई इन्दिरा हाई गर्ल्स स्कुलको शिक्षिकाको पदमा नियुक्त गरियो। केही महिनापछि एसएससी वेबसाइटमा जारी अवैध शिक्षिकाको तालिकामा फेरि उक्त स्कुलको शिक्षिकाको नाम आएपछि मेखलीगञ्जमा सनसनी मच्चिएको छ। स्कुल सूत्रले दिएको जानकारी अनुसार 1 वर्ष अघि शिक्षिका कनिका बर्मन कालियाचोकबाट स्थानान्तरण भएर मेखलीगञ्ज इन्दिरा उच्च बालिका विद्यालयमा आएकी हुन्। तिनको घर जलपाईगढी जिल्लाको धुपगढीमा छ। यस विषयमा स्कुलका प्रधान शिक्षिकाले भनिन्, गत दुई दिनदेखि उक्त शिक्षिका स्कुलमा आएकी छैनन्। यस विषयमा हालसम्म कुनै निर्देशिका अएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *