अवकाश ग्रहण गरेपछि संगीतकार महेश्वर लामालाई विदाई

खरसाङ (निसं): वरिष्ठ संगीतकार एवम् आकाशवाणी खरसाङका संगीतकार महेश्वर लामा आफ्नो पदबाट अवकाशप्राप्त भएका छन्। 28 अप्रेल 1994 देखि आकाशवाणी खरसाङमा संगीतकारको रूपमा कार्यरत् महेश्वर लामा आज 31 अगस्त 2023 देखि अवकाशप्राप्त भएका छन्। आज आकाशवाणी खरसाङमा एउटा कार्यक्रम आयोजना गरेर तिनलाई सम्मान जनाइयो। संगीतकार महेश्वर लामाको विदाई एवम् सम्मान कार्यक्रम आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको विशेष उपस्थितिमा सम्पन्न भयो। आकाशवाणी खरसाङको वरिष्ठ उद्घोषक उमेश कार्कीडोलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा आकाशवाणी खरसाङ मनोरञ्जन एकाईको आयोजनामा विविध कार्यक्रमहरू सम्पन्न गरियो। उक्त कार्यक्रममा अवकाशप्राप्त संगीतकार महेश्वर लामाको जीवनी विषयमा प्रसारण निष्पादक लेखनाथ राईले राखे। कार्यक्रममा स्वागत गीत उदघोषक उदघोषिका टोलीले प्रस्तुत गरेका थिए भने उमेश कार्कीडोली, बिनीता लामा बोस, पवन डुक्पा, लेखनाथ राई आदिले कविता पठन गरे। यसैगरी, सञ्जय रावत, निङमा डुक्पा, शर्मिष्टा सिंह आदिले गीत प्रस्तुत गरे।


कार्यक्रममा सबिना गिरी र सिल्भेष्टर लेप्चाले युगल नृत्य प्रस्तुत गरे। कार्यक्रममा अवकाशप्राप्त संगीतकार महेश्वर लामालाई आकाशवाणीको तर्फबाट सम्वर्द्धना पत्र, स्मृति चिन्ह, रेडियो सेट साथै अन्य उपहार प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा केक काटेर तिनको अवकाशप्राप्त जीवनको शुभकामना प्रकट गरियो। कार्यक्रममा महेश्वर लामाकी पत्नी र छोरी-ज्वाइँ पनि उपस्थित थिए। कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले आफ्नो वक्तव्यमा संगीतकार महेश्वर लामासित गरेको कामका अनुभवहरू साझा गरे। तिनले आकाशवाणी खरसाङमा एकसाथ संगीतको क्षेत्रमा धेरैवटा कामहरू गरेका कुराहरू साझा गरे। अवकाशप्राप्त संगीतकार महेश्वर लामाले आफू शुरुमा आकाशवाणी खरसाङसित जोडिएको बेलाको कुराहरूका सम्झना साझा गरे। आकाशवाणी खरसाङ हामी सबैको लागि एउटा धरोहर रहेको र यस धरोहरमा जोडिएर सबैले आफ्नो बेस्ट दिनु पर्ने बताउँदै तिनले आकाशवाणी खरसाङसित सम्बन्धित आफ्नो अनुभवहरू पनि साझा गरे। कार्यक्रममा धन्यवाद ज्ञापन प्रसारण निष्पादक मनन तामाङले राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *