आवास योजनाको सूचीमा मन्त्री निशिथ प्रामाणिकको बाबुको नाम, तृणमूल कङ्ग्रेस-ले उठायो आवाज

कुचबिहार: आवास योजना परियोजनाको तालिकामा केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रामाणिकको बाबुको नाम रहेकोले यसलाई लिएर राज्य तृणमूल कङ्ग्रेसका उपाध्यक्ष तथा कुचबिहार नगरपालिकाका चेयरम्यान रवीन्द्रनाथ घोषले आवाज उठाएका छन्। प्राप्त जानकारी अनुसार आवास योजनाको सूचीमा दिनहाटा 1 नम्बर ब्लक अन्तर्गत भेटागढी 1 नम्बर ग्राम पञ्चायत इलाकाको खरिजा बालाडाङ्गा निवासी विधुभूषण प्रामाणिकको नाम रहेको छ। उक्त तालिकामा केन्द्रीय गृह राज्य मन्त्रीको बाबुको नाम रहेकोले हाल राजनैतिक चर्चा चुलिएको छ। यसलाई लिएर आज कुचबिहार नगरपालिकाका चेयरम्यान रवीन्द्रनाथ घोषले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, भाजपा आवास योजना सूचीमा नामलाई लिएर राज्यभरिमै विभिन्न आरोप लगाएर भाजपा-ले आन्दोलन गरिरहेको छ। मन्त्री प्रामाणिकको आलीशान घर रहेको छ तरै पनि तिनको बाबुको नाम आवास योजना परियोजनाको तालिकामा रहेको छ। अब के भाजपाका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रामाणिकको घर अघि विक्षोभ प्रदर्शन तथा धरना बस्नेछन् भन्दै तिनले प्रश्न चिन्ह खडा गरेका छन्। तिनले अझ भने, लगभग 6 वर्षअघि सर्वे गर्दा केही मानिसहरूको पक्काको घर थिएन। यस अवधि केही मानिसहरूको आर्थिक अवस्थामा सुधार आएको छ। तर तिनीहरूको नाम पनि उक्त तालिकामा रहेको छ। यसमा कुनै सन्देह छैन कि योग्य व्यक्तिले नै उक्त योजनामार्फत् घर पाउनेछन्। तथापि, यस सम्बन्धमा केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रामाणिक तथा तिनको परिवारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। कुचबिहार जिल्ला भाजपाका अध्यक्ष सुकुमार रायले भने, केन्द्रीय गृह राज्य मन्त्रीले आफै लाभार्थीलाई घर दिनसक्नेछन्। यसैले षड्यन्त्र गरेर तिनको बाबुको नाम सूचीमा राखेको हुनसक्छ। वास्तवमा धेरैजना तृणमूल नेता तथा पञ्चायतहरूको नाम पनि आवास योजनाको लिस्टमा रहेको छ, त्यसैले तिनीहरूले यस्तो षड्यन्त्र गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.