बाबुले गरे आफ्नै छोराको हत्या

जलपाईगढी : छोराको अत्याचार सहन गर्न नसकेर धारिलो हतियारले प्रहार गरेर छोराको हत्या गरेको बाबुविरुद्ध अभियोग उठेको छ। मृतक 34 वर्षीय अनिमेश देवनाथको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार जलपाईगढीको 23 नम्बर वार्डको अरविन्दनगर निवासी अनिल कुमार देवनाथले आफ्नो एउटै छोरा अनिमेश देवनाथको अत्याचार सहन गर्न नसकेर गत राति धारिलो हतियारले घाँटी र भुँडीमा प्रहार गर्दा घटनास्थलमै अनिमेशको मृत्यु भएको बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार धेरै समय अघिदेखि अनिमेशले दिनहुँ रक्सी पिएर घरमा आई परिवारका सदस्यहरूमाथि अत्याचार गर्ने गरेको साथै आफ्नो वृद्ध बाबु, स्वास्नी र छोरालाई कुटपीट गर्ने गरेको आरोप रहेको छ। सधैँ झैँ हिजो पनि अनिमेशले रक्सी पिएर घरमा झगडा गर्दा तिनका बाबुले सम्झाउने प्रयास गर्दा छोराले उल्टै तिनीहरूमाथि हमला गरे। यसपछि बाबुले छोराको अत्याचार सहन गर्न नसकेर धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै अनिमेशको मृत्यु भएको बताइएको छ। आज बिहान जलपाईगढी कोतवाली थानाका पुलिसलाई घटनाबारे जानकारी दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। अर्कोतिर, आरोपी बाबुले पुलिस अघि आत्मसमर्पण गरे। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *